सिनर्जी हाइड्रोपावरको शेयर बिक्री खुल्ला नेप्सेमा सामान्य सुधार



नेपाल समाचारपत्र
काठमाडौं

शेयर बजारमा निक्कै उतारचडाव भइरहेका बेला सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले शुक्रबारदेखि शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सय रुपियाँ अंकित २१ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो निष्काशन हुने कुल २१ लाख कित्तामध्ये ३ प्रतिशत शेयर कर्मचारी ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्टाएपछि बाँकी हुन आउने १९ लाख ३२ हजार कित्तालाई सर्वसाधारणले आवेदन गर्न सक्नेछन्। सानिमा क्यापिल लिमिटेड कम्पनीको शेयर बिक्री प्रबन्धक रहेको छ। कम्पनीमा न्युनतम् ५० कित्तादेखि अधिकतम् २१ हजार कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। ७० करोड चुक्ता पँुजीमध्ये कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशत आयोजना प्रभावित दोलखाका स्थानीयबासीलाई बिक्री गरिसकेको छ। बाँकी ३० प्रतिशत सर्वसाधारणको लागि बिक्री खुला गरेको होे। कम्पनीको शेयर छिटोमा पुस १२ गते र ढिलोमा पुस २२ गते बन्द हुनेछ। कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपियाँ रहेको छ।

यसैबीच लगातार ओरोलो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)साताको अन्तिम कारोबार हुने दिन बिहीबार भने ४ दशमलव ७८ अंकले बढेर १४७५ दशमलव ४१ अंकमा पुगेको छ। यस दिन कारोबारमा आएका वाणिज्य बैंकलगायत विकास बैंक, उत्पादन र अन्य समूह सकारात्मक रहे भने होटल, जलविद्युत्, वित्त तथा बीमा समूहमा भने गिरावट आएको छ।

कुल १३८ कम्पनीको ७ लाख ६९ हजार कित्ता शेयरहरू ५० करोड २२ लाख रुपिंयाँमा किनबेच भएका छन्। यो अघिल्लो अघिल्लो कारोबार रकमभन्दा २ करोड रुपियाँले बढेको हो।

बजारमा ठूलो हिस्सा ओगटेको नेपाल टेलिकमले रणनीतिक साझेदार भित्र्याउने निर्णयको प्रभाव शेयर बजारमा परेको छ। मंगलबार एनलाइसिस म्यासन लिमिटेड युकेका तर्फबाट एनलाइसिस म्यासन इण्डियालाई परामर्शदाता नियुक्त सम्झौता गरेको कम्पनीको शेयर मूल्य ३ प्रतिशतले बढेको छ भने कम्पनी समावेश अन्य समूह झण्डै २० अंकले बढेको बिहीबार टेलिकमको ५७ हजारभन्दा बढी कित्ता शेयर चार कारोडमा किनबेच भएको छ।

त्यस्तै यसदिन बढी कारोबार हुनेमा सनराइज बैंक (संस्थापक) शेयरको ४ करोड ४२ लाख रुपियाँको कारोबार भयो। नेको इन्स्योरेन्सको पनि चार करोड रुपियाँभन्दा बढी तथा चिलिमे हाइड्रोपावर कम्पनको करिक चार करोड रुपियाँको कारोबार भएको छ।

यसदिन एनबी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा करिब आठ प्रतिशतको हाराहारीमा कमाएका छन्। ग्रिन डेभलपमेन्ट, भार्गव विकास बैंक, एक्सल डेभलपेमन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी (संस्थापक), नेरुडे लद्युवित्त, कन्काई विकास बैंकलगायतका कम्पनी धेरै कमाउनेमा परेका छन्। त्यस्तै माउन्ट मकालु डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। त्यसपछि आइएलएफसीओ माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन डिष्ट्रलरी, कञ्चन डेभलपमेन्ट बैंक, कर्णाली डेभलमेन्ट तथा एनएमबि बैंकलगायतका कम्पनीका लगानीकर्ता पनि धेरै गुमाउनेमा परेका छन्। बिहीबार ‘क’ वर्गका कम्पनीहरू सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १० अंकले बढेको छ।

प्रतिक्रिया दिनुहोस्