जनरल फाइनान्स समस्याग्रस्तको सूचीबाट हट्यो



काठमाडौं, (नेस)

समस्याग्रस्त कम्पनीको सूचीबाट हट्दै जनरल फाइनान्सले पुनः कारोबार थालेको छ। वित्तीय अवस्था कमजोर भएपछि तीन वर्षअघि फाइनान्सलाई समस्याग्रस्त गरेको थियो। गैरआवासीय नेपालीहरूको प्रवेशपछि जनरल फाइनान्सलाई राष्ट्र बैंकले वित्तीय अवस्थामा सुधार आएको भन्दै समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको हो।

अब यो संस्थालाई नयाँ समूहले बिहीबारदेखि औपचारिक रूपमा पुनः वित्तीय कारोबार शुरू गरेको छ। कम्पनीले २०७० देखि निक्षेप परिचालन र कर्जा लगानी गर्न पाएको थिएन। पुन कारोबारको शुरूआत नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले गर्नुभयो। त्स अवसरमा उहाँले जनरल फाइनान्समा पैसा हालेका र निक्षेप जम्मा गरेकाहरू अप्ठेरोमा परेका बेला लगानी गरेर संस्था जोगाइ दिएकोमा गैरआवासीयलाई धन्यवाद दिँदै भन्नुभयो–‘तपाईहरूले थोरै लगानी गरेर पनि संस्था जोगाइ दिनुभयो। धेरैजना यो कामबाट खुसी भएका छन्। यसले मलाई पनि खुसी तुल्याएको छ।’ नयाँ लगानीकर्ताले एक सय २५ प्रतिशत हकप्रद शेयर दिने निर्णय गर्दै कम्पनीको पुँजी बढाएका छन्।

प्रतिक्रिया दिनुहोस्