‘मुलुक विखण्डन गर्न खोजियो’



नेपाल समाचारपत्र
काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता र अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। बुधबार एक वक्तव्य प्रकाशित गरी नेपालीबीचको सामाजिक सद्भावलाई मेट्ने प्रयास भएको र हिमाल, पहाड र तराईबीचको एकतालाई भत्काउन खोजेको भन्दै पूर्व ाजा शाहले चिन्ता व्यक्त गर्नुभएको छ।

विज्ञप्तिमा यो भूमि पुर्खाहरूको बलिदान र अदम्य साहसबाट सिर्जित भूमि भएकाले यो मुलुकलाई जोगाउँदै लैजानुपर्नेमा अहिले मुलुक विखण्डन गर्न खोजिएको उल्लेख गरिएको छ।

वर्तमान अवस्थामा मूल्य र मान्यतामा आधारित राजनीति नहुनु, पृथकीकरणको सिद्धान्तमा ह्रास आउनु र आपराधिक कार्यले नेपाली समाज प्रताडित बन्नुका साथै राष्ट्रिय एकता र भावनामा निर्मम प्रहार भइरहेको उहाँले वक्तव्यमा उल्लेख गर्नुभएको छ।

नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको भन्दै उहाँले वक्तव्यमा अगाडि उल्लेख गर्नुभएको छ– ‘आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने प्रयास भएको छ।’

पूर्वराजा शाहद्वारा जारी विज्ञप्तिमा क्रान्तिकारी परिवर्तन, परिवर्तनकारी र बलिदानी शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय भएको उल्लेख गरिएको छ। हालै चीन, सिंगापुर र भारत भ्रमण गरेर फर्केको केही समयपछि आएको पूर्वराजा ज्ञानेन्द्रको भनाइलाई अर्थपूर्ण रूपमा लिइएको छ।

उहाँले निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधार किमार्थ बलियो हुन नसक्ने भन्दै इतिहासलाई कलंकित गर्दै निश्चित स्वार्थ पूरा गर्न गरिएको कार्यहरू प्रशंसित हुन नसक्ने उल्लेख गर्नुभएको छ। माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाइ दिएर मात्र कथित अग्रगमनको यात्राले गति लिन नसक्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ।

नेपालको स्थायी सत्ता भनेका राष्ट्रबासी नै हुन्। त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म, संस्कृति, इतिहास तथा त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग भएको उल्लेख गरिएको वक्तव्यमा नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव नै लौकिक सत्ता भएको उल्लेख गरिएको छ। वक्तव्यमा दुर्भाग्यवश आजको सन्दर्भमा बा≈य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरू हाबी गराएको छ भने, स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको भन्दै चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा अझै पनि जनताका आस्थाहरू ढलेका छैनन्, नेपाली मन मस्तिष्कमा देशभक्तिका भावना ढलेका छैनन्, सबै नेपालीले राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततीलाई सुम्पन प्रखररूपले लाग्नुपर्ने उल्लेख गरिएको छ।

हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं, समय ढल्किएपछि पश्चात्तापले कुनै अर्थ नराख्ने वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्