संशोधन प्रस्तावमा मधेसी दल विभाजित



काठमाडौं, (नेस) सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा दुई धारमा देखिएको छ। संशोधन प्रस्तावलाई समर्थन गरेर पास गरी पुनः अर्को चरणको आन्दोलन गर्ने मोर्चाको एक धारको तयारी छ भने अर्को धारले संशोधन प्रस्ताव परिमार्जन भए मात्र समर्थन गर्ने अडान लिएको छ। तर, भारतीय कतिपय कोणबाट अहिलेको संशोधन प्रस्तावलाई समर्थन गरी अगाडि बढ्न मोर्चाका नेताहरूलाई दबाब दिन थालिएको स्रोतले बताएको छ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहित संघीय गठबन्धनका केही नेताहरू संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्ने पक्षमा छन्। नयाँ शक्ति नेपालसँग कार्यगत एकता गर्न लागेका यादवले सरकारले दर्ता गराएको संशोधन प्रस्ताव परिमार्जन नभए आन्दोलनमा जाने तयारी गरेको पाइएको छ। उहाँले १० प्रदेशको खाका ल्याउनुपर्ने अडान राख्दै आउनुभएको छ। फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले अहिलेकै अवस्थामा संविधान संशोधन प्रस्ताव स्वीकार नगरिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले निर्णय नै गरिसकेका छौं कि परिमार्जन नभएसम्म हामी संशोधनलाई स्वीकार गर्ने छैनौं।’

यता मधेसी मोर्चाको नेतृत्व गर्दै आएका तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो संशोधन प्रस्तावमाथि समर्थन गर्दै पास गराउने पक्षमा देखिनुभएको छ। महतोले संविधान संशोधन प्रस्ताव पास भएपछि अर्को चरणको आन्दोलन गर्ने अनौपचारिक रूपमा बताउने गर्नुभएको छ। नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले अहिलेको उपलब्धिलाई हासिल गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको बताउनुभयो। उहाँले दर्ता भएको संशोधन प्रस्तावलाई समर्थन गरी अगाडि बढ्नुपर्ने बताउँदै भन्नुभयो– ‘अहिलेको संशोधन प्रस्तावलाई पास गरौं र भोलिदेखि नै आन्दोलनमा जाऊँ भन्ने मेरो बुझाइ रहेको छ।’

सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्न मधेसी मोर्चालाई भारतीय पक्षको दबाब बढ्दै गएको मोर्चाका एक नेताले बताए। उनका अनुसार संशोधन प्रस्तावलाई स्वागत गरिसकेको भारतले अहिलेको प्रस्तावलाई समर्थन गर्दै अगाडि बढ्न आग्रह गरेको हो।

नेपालका लागि भारतीय राजदूत रञ्जित रेसहित भारतीय अन्य नेताहरूले पनि मोर्चाका नेताहरूलाई अहिलेको संशोधन प्रस्तावलाई समर्थन गर्न आग्रह गरेका छन्। हालै नेपाल भ्रमणमा आएका भारतीय प्राध्यापक एसडी मुनीले पनि संशोधनबाट हुने उपलब्धिलाई हासिल गर्दै आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभएको थियो।

मोर्चा स्रोतका अनुसार संशोधनलाई लिएर प्रतिपक्षी दलले भारतलाई बदनाम गर्न खोजेको भन्दै भारतले संशोधन पारित गरी समस्या समाधानमा लाग्न सुझाव दिएको पाइएको छ। भारतले संविधान संशोधन भएपछि नेपालमा निर्वाचन हेर्न चाहेको भारतीय राजदूत रेले मोर्चाका नेताहरूलाई बताउने गर्नुभएको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभन्दा बाहिर रहेको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पनि संविधान संशोधन प्रस्तावको समर्थनमा रहेको छ। फोरम लोकतान्त्रिकले औपचारिक रूपमा घोषणा नगरे पनि उसले अहिलेको प्रस्तावलाई समर्थन गर्ने जनाएको छ।

संशोधन प्रस्तावमाथि छलफलका लागि फोरम लोकतान्त्रिकले पुस १२ र १३ गते पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक आ≈वान गरेको छ। पार्टी सचिव भरतेन्दु मल्लिकका अनुसार संशोधन विधेयकका विषयमा पार्टीको बैठकबाट औपचारिक निर्णय लिइनेछ।

प्रतिक्रिया दिनुहोस्