तिवारीलाई शहीद घोषणा गर्न सिफारिस तीन दिनपछि शव उठाइयो



यमलाल भुसाल, बुटवल
युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई जिल्ला सुरक्षा समिति रूपन्देहीले शहीद घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ। जिल्ला सुरक्षा समिति रूपन्देहीको बुधबार बसेको बैठकले युवा संघ रूपन्देहीका अध्यक्ष तिवारीलाई शहीद घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो।
सुरक्षा समितिको सिफारिससँगै ३ दिनअघि हत्या गरिएका तिवारीको दाहसंस्कारको बाटो खुलेको हो।

त्यसै गरी जिल्ला सुरक्षा समितिले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउने, तिवारीको हत्या गर्ने अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने र व्यक्तिगतरूपमा विभिन्न व्यक्तिलाई फोनबाट आउने धम्कीका विषयमा सुरक्षा प्रदान गर्ने निर्णयसमेत गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताउनुभयो।

जिल्ला समितिको निर्णयपछि लुम्बिनी अञ्चल अस्पतालमा रहेको तिवारीको शवलाई बुधबार अपरा≈न ५ बजे बाहिर निकाली शवयात्रा गरिएको हो। तिवारीको शवलाई हजारौं शुभेच्छुकका माझ बुटवल नगर परिक्रमा गराइएको थियो। नगरपरिक्रमासँगै आयोजित शोकसभामा नेकपा एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले तिवारीलाई शहीद घोषणा गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
तिवारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिँदै उपमहासचिवद्वय पौडेल र भुसालले पार्टीको झण्डा र युवा संघका अध्यक्ष पहारीले संगठनको झण्डा ओढाउनुभएको थियो।

बिहान ११ बजे तिवारीको शव यात्रा गरिने गरी युवा संघले सूचना जारी गरे तापनि विविध कारणले ढिला भएको थियो। दिनभर बुटवल नगरको सडकमा हजारौं शुभेच्छुकको भिड रहेको थियो। बुधबारै तिवारीको पवित्रस्थल देवघाटमा अन्तिम दाहसंस्कारका लागि लगिएको छ।आन्दोलनका क्रममा तिवारीको राजनीतिक प्रतिशोधबाट हत्या भएको भन्दै उनको परिवार र एमालेले हत्याको छानबिनमा सरकारले चासो नदिएको गुनासो गरेको छ।

तिवारीको हत्यालाई विषयान्तर गर्न नियोजितरूपमा मनोज पुन भन्ने व्यक्तिलाई जोडेर अपराधीकरण गर्न खोजिएको आरोप परिवारको छ। आन्दोलनको अग्रभागमा हिँडेका बेला तिवारीमाथि पटक पटक हत्याको धम्की आएको उनका दाजु चक्रपाणि तिवारीले बताउनुभएको छ। तिवारीको हत्याको विषयलाई लिएर आ≈वान गरिएको रूपन्देही बन्दसमेत बिहीबारदेखि खुला गरिएको युवा संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्