फुटपाथे पसल हटाउने अभियान



नेपाल समाचारपत्र
काठमाडौं
हनुमान ढोका दरबार, वसन्तपुर आसपासका बढी भीडभाड र अस्तव्यस्त हुने स्थानहरूमा राखिएका फुटपाथे पसलहरू हटाउने अभियान शुरु गरिएको छ।
फुटपाथे पसलहरूले आवागमन अप्ठइरो पारेको, ट्राफिक जाम हुने गरेको र वातावरण फोहोर बनाएको अवस्थामा सो अभियान शुरु गरिएको बताइएको छ। प्रहरी प्रशासन, स्थानीयबासी, काठमाडौं महानगरपालिका सबैको सहकार्यमा फुटपाथे पसल हटाउने अभियान शुरु गरिएको महादेव मखन क्लबका अध्यक्ष एवम् स्थानीयबासी विनोद तुलाधरले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। अभियानलाई निरन्तरता दिन स्थानीयस्तरमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सम्मिलित कान्तिपुर विकास समिति नामक संस्था गठन गरिएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका दीपक श्रेष्ठको संयोजकत्वमा गठन भएको सो समितिमा असन सेवा समितिका यज्ञरत्न तुलाधर सहसंयोजक रहनुभएको छ। त्यस्तै सचिवमा महादेव मखन क्लबका विनोद तुलाधर, सहसचिवमा काष्ठमण्डप मंका स्यना दबूका रजिन स्थापित, कोषाध्यक्षमा असन कमलाछी टोल सुधार समितिका प्रदीप जोन्छे, सहकोषाध्यक्षमा सर्वहित नेपालका सृजना मास्के र प्रवक्तामा सम्पदा संरक्षण समितिका गणपतिलाल श्रेष्ठ रहनुभएको छ।

त्यस्तै समितिको सदस्यहरूमा मरुत्वाः पुचःका वसन्त श्रेष्ठ, गंगा क्लबका दिगम्बर श्रेष्ठ, इन्द्रचोक क्लबका रजुत्तम श्रेष्ठ, मच्छिन्द्र क्लबका जीवेन्द्र कर्माचार्य, बालकुमारी खेल मण्डलका पुरुषोत्तम वज्राचार्य, बालकुमारी टोल विकास समाजका उदय श्रेष्ठ, असन कमलाछी टोल सुधार समितिका अमूल्य मानन्धर, नेवाः योङ स्टार क्लबका राजेन्द्र श्रेष्ठ, भोटाहिटी बजार समितिका ज्ञानेन्द्र तुलाधर, असन–न्हाय्कंत्वाः सेवा समितिका सञ्जयराज शर्मा, असन–त्यःर–कुसुम बियालाछी समितिका जमिन श्रेष्ठ र कुमारी क्लब कल्याणका ताम्राकार रहनुभएको छ। समितिले शुरुको चरणमा हनुमान ढोका, वसन्तपुर इलाका चिकंमुगल, भिमसेनस्थान, मरु, असन, भोटाहिटी र दोस्रो चरणमा भिमसेनस्थानलगायत क्षेत्रमा फ्ुटपाट पसल हटाउने अभियान शुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्