“प्रहरी शासक हुँ भन्ने बुझाइबाट मुक्त हुनुपर्छ”

461

महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुख भएर काम गरिरहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पिताम्बर अधिकारी जिल्लाको सुरक्षाको अवस्थाका बारेमा के भन्नुहुन्छ ? नेपाल समाचारपत्रका लागि सुनील महर्जनले उहाँसँग गरेको कुराकानीका मुख्य अंशहरूः

महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखका रूपमा प्राथमिकतामा राखेका काम कतिको पूरा भए ?

महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी प्रमुख भएर म गत वर्ष असार ७ गते आएको थिएँ । राजधानीसँग जोडिएको, जनसंख्या, भूगोल, धार्मिक र सांस्कृतिक अवस्थालाई हेरेर हामीले दुई⁄तीन वटा विषयमा बढी ध्यान केन्द्रित गरेका थियौं । पहिलो, सेवाग्राही वा समुदाय र प्रहरीबीचको सम्बन्ध कस्तो हुने भन्ने विषय । त्यस क्रममा मैले प्रहरी र समुदायबीचको सम्बन्ध सहज र सहयोगी हुनका लागि सञ्चार तथा संवाद गर्नुपर्ने खाँचो महसुस गरें ।

दोस्रो भनेको सेवाप्रवाहको कामलाई प्रभावकारी बनाउने भन्ने हो । प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाप्रवाह चुस्त तथा दुरुस्त भएको छ कि छैन ?

तोकिएको समयभित्र पाएको छ कि छैन ? यी काममा बिचौलिया तथा दलालहरूले अवरोध पुर्याइरहेका छन् कि छैनन् ? भन्नेतर्फ मेरो ध्यान र≈यो ।
त्यससँगै प्रहरी कार्यालयबाट दिने सेवा प्रवाहलाई विशेषतः दक्षिण पहाडी भेगका विकट गाविसहरूमा सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेको पाएँ । सोहीअनुरूप अहिलेसम्मको कार्यकालमा यी क्षेत्रहरूमा काम गरिरहेका छौं । सोहीअनुरूप ग्रामीण भेगमा तीन वटा चौकी स्थापना गर्यौं । अर्को महत्त्वपूर्ण र प्राथमिक कार्य भनेको अपराध नियन्त्रण र अनुसन्धान गर्ने पाटो हो । यो प्रहरीको निकै महत्त्वपूर्ण र चुनौतीपूर्ण काम पनि हो । एउटा जघन्य अपराध भयो भने शान्ति सुरक्षा कायम गर्नका लागि गरेका सयौं प्रयासहरूलाई प्रभावित पार्दछ । त्यस्तो घटना हुन नदिन वा भयो भने प्रहरीको सम्पूर्ण क्षमता लगाएर अनुसन्धान गर्नुपर्दछ । यही मान्यताले काम गर्दा खास उपलब्धि भएको छ ।

१७ महिनाको अवधिमा तपाईं र तपार्इंको नेतृत्वको प्रहरी कार्यालयले गरेका मुख्य काम के–के हुन् ?

यस अवधिमा थैनास्थित देवदत्त महाविहारमा भएको पुरातात्त्विक महत्त्वका दुर्लभ मूर्तिहरूको चोरी पनि निकै चर्चित विषय र≈यो । करिब ४ सय वर्ष पुरानो बुद्ध र आर्यताराका मूर्तिहरू संगठितरूपमा चोरेर थाइल्यान्डको बैंककमा पुर्याउने योजना बनाइरहेको समयमा अनुसन्धान गरेर त्यसमा संलग्न धेरै मानिसलाई पक्राउ गर्न सफल भयौं । ती मूर्तिहरू सही सलामत महाविहारमा राख्ने काम गर्यौं ।

जेल परेको मान्छे छुटाउनका लागि एउटी बच्चीलाई अपहरण गरेको घटना पनि अर्को चर्चित घटना थियो । बच्चीलाई अपहरण गर्ने संवेदनशील घटना हुने वित्तिकै तत्कालै प्रहरी परिचालन गरेर एक दिनभित्रमा अपहरण मुक्त गरी दोषीलाई समातेर कारबाहीको प्रक्रिया चलाएँ ।

ठूल्ठूला चोरीको घटनाको सफल अनुसन्धान गरेर धेरै चोरहरू समातियो । ५०⁄६० भन्दा बढी चोरीका घटनाहरू सफल अनुसन्धान गरेर कारबाहीका लागि पठायौं । अर्को भनेको गुन्डागुर्दी नियन्त्रणका घटनामा महत्त्वपूर्ण सफलता हात लागेको छ । लेनदेन, ठेक्कापट्टा, जग्गा प्लटिङलगायत विविध व्यवसायमा देखिएको गुन्डागर्दी नियन्त्रणका घटनाहरूमा संलग्न धेरैलाई कारबाहीको दायरामा ल्यायौं ।

अपराध अनुसन्धान महाशाखामा बसेर लामो समय काम गरिसकेको र विभिन्न जिल्लामा प्रहरी प्रमुख भएर काम गरेको अनुभव तपाईंसँग छ । ती अनुभवको आधारमा ललितपुरमा हुने अपराधहरूलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

जुम्लादेखि पर्सासम्मका जिल्लाहरूमा प्रहरीको इन्चार्ज भएर बसें । ती जिल्लाहरूको आ–आफ्नो विशेषता रहेको छ । हिमाली जिल्लाहरू जहाँ जनसंख्या कम छ त्यहाँ अपराध पनि कम हुने गर्दछ । ती जिल्लाहरूमा व्यक्तिगत रिसिइबीका अपराधहरू हुने र संगठित प्रकृतिका अपराधहरू नगन्य मात्रामा हुने गर्दछ । केही दिनअघि जुम्लामा मूर्तिहरू चोरी भएको सूचना बाहिर आयो । यस्ता घटनाहरू साह्रै कम हुने गर्दछन् । परम्परा, संस्कारसँग जोडिएर आएका बालविवाह, बहुविवाह जस्ता अपराधहरू त्यस्तो क्षेत्रमा हुने गर्दछ । काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रहरूमा जस्तोसुकै अपराध पनि हुने गर्दछ । यहाँ धेरै थरीका मानिसहरूको बसोबास रहेको छ ।

तराईतिर लागूऔषध, गाँजा चरेस, गैरकानुनीरूपमा सर–सामान ओसारपसार, जस्ता सीमावर्ती अपराधहरू बढी हुने गर्दछन् । अपराध गरेर एक अर्काको सीमामा लुक्ने, पेसेवर अपराधीहरू आउने जाने किसिमका घटनाहरू हुने गर्दछन् । काठमाडौं उपत्यकामा शहरीकरणसँगै जनसंख्या वृद्धि मात्र भयो । त्यसै अनुरुपमा अपराध र त्यसलाई नियन्त्रण गर्ने चुनौतीहरू थपिँदै गएको छ । त्यससँगै बस्ती विकास, समुदायबीचको सद्भाव र आर्थिक विकासले पनि अपराधमा प्रभाव पार्दछ । काठमाडौंमा हुने कूल अपराधमध्ये ललितपुरमा त्यसको करिब १२ प्रतिशत अपराध हुने गरेका छन् । अपराध नियन्त्रणमा ललितपुर जिल्लामा तुलनात्मकरूपमा सहज रहेको छ । यस कार्यमा समुदायको पनि विशेष सहयोग रहेको छ ।

शहरीकरणसँगै अपराध नियन्त्रणमा के–कस्ता चुनौतीहरू देखिएका छन् ?

शहरीकरण व्यवस्थित भयो भने सबै कुराहरू व्यवस्थित बन्दै जानेछ । सुकुम्बासी बस्ती व्यवस्थित गर्न सक्यौं भने धेरै अपराधहरू स्वतः नियन्त्रण गर्न सकिन्छ । डेरावालाहरूको विवरण राख्ने हो भने पनि कति अपराधहरू नियन्त्रण गर्न सकिन्छ । जनसंख्या वृद्धि तथा अव्यवस्थित शहरीकरण हुँदै गए पनि यही कुरा व्यवस्थित गर्न हामीलाई हम्मे–हम्मे पर्दछ । सामुदायिक प्रहरीमार्फत् डेरावालहरूको विवरण लिइरहँदा पनि त्यसलाई सधैं अद्यावधिक गर्न सकिरहेका छैनौं ।

ललितपुरमा प्रहरीको जनसम्पर्क कस्तो छ ?

सबै काम मेरो रुचिले मात्र होइन। प्रहरी प्रमुख भएर केही फरक त पक्कै पनि ल्याउन सकिन्छ । समग्र प्रहरी प्रधान कार्यालयले ल्याएको मुस्कानसहितको प्रहरी सेवा, पुलिस मेरो साथी, नागरिक सुनवाइ जस्ता कार्यक्रम अनिवार्यरूपमा समुदायमा गएर गर्नै पर्दछ । प्रधान कार्यालयले नै ती कार्यक्रमहरूको अनुगमन गरिराखेको छ । ती कार्यहरू नगरे हाम्रो रेटिङ कमजोर हुने भएकाले पनि हामी ती कार्यहरू अनिवार्यरूपले गर्दछौं। पहिला–पहिला व्यक्तिगत पहलमा यस्ता कार्यक्रमहरूले हुन्थे भने अहिले प्रधान कार्यालयले त्यसलाई अपनत्व लिएर नीतिमा समेटिएको छ । त्यसलाई कुन तरिकाले
गर्ने ? कसरी गर्ने काम परिसर प्रमुखको बुद्धि विवेक, व्यावहारिक सुझबुझ र नेतृत्व शक्तिमा भरपर्दछ । प्रहरीभित्र हुने अनियमितता, अहम्, घूस लिने र राजनीतिक पहुँच प्रभावमा परेर काम गर्नेजस्ता मानवीय आचरण र व्यवहारका विषयहरू प्रहरी प्रमुख वा इन्चार्जले राम्रो नियतले काम गर्यो भने हटाउन सकिन्छ । कार्यालय प्रमुखको आचरण राम्रो भएमा व्यक्तिगत तहबाट प्रहरी प्रशासनभित्रका धेरै कुराहरू सुधार गर्न सकिन्छ ।

समुदायसँग घुलमिल हुने क्रममा के–कस्ता अनुभूतिहरू हुने गरेका छन् ?

प्रहरी र समुदायसँग नजिक हुने क्रममा अलिकति खाडल भएको महसुस गरेको छु । जस्तै यहाँ बसोबास गर्ने नेवार, तामाङ, राई लिम्बुलगायत समुदायमा हामीभित्र रहेको कुरा हामीभित्रै रहे भइहाल्छ नि, किन प्रहरी प्रशासनमा पठाउनुपर्यो भन्ने बुझाइले जरो गाडेको छ । त्यस्तो सोचले गर्दा कहिलेकाहीं अपराध पनि दबिएर बस्ने गरेको छ । नराम्रो कुरो पनि लुकेर बस्ने गरेको छ । त्यसलाई त बाहिर ल्याउनुपर्यो । प्रहरीले दबिएर रहेका अपराधलाई देख्ने, भेटाउने हुनका लागि प्रहरीसँग नजिक हुनुपर्यो । समुदायसँग नजिक हुन नै सांस्कृतिक जात्रा पर्व र मेला महोत्सवमा हामी सहभागी भइराखेका छौं । प्रहरीले पनि समुदायसँग घुलमिल हुन प्रयास नै नगर्ने अनि समुदाय टाढा भयो भनेर बस्नुहुँदैन । अर्कोतर्फ जिल्लाको दक्षिण पहाडी भेगमा प्रहरी चौकीभित्र एक दिन हिँड्नुपर्ने, प्रहरी नै नदेखिने जुन भौगोलिक दूरीको अवस्था छ, त्यसलाई सम्बोधन गर्न प्रयास गरेका छौं ।

अझै पनि यहाँका मानिसहरू विशेषतः आदिवासी जनजातिहरूमा प्रहरीप्रति भावनात्मकरूपमा अपनत्व महसुस गर्न नसकेकाले प्रहरी प्रशासनसँग नजिक हुन नचाहेको जस्तो तपार्इंलाई लाग्दैन ?

हरेक समाजको आफ्नै विशेषता हुन्छ । मधेसमा पनि मुखियामार्फत् मात्रै प्रहरी प्रशासन समक्ष कुरो पुग्दछ । यहाँँ पनि आफ््नै जातीय अभ्यास र भाषाका कारण पनि समुदायभित्र नै कुरो गरौं भन्ने बुझाइ भएको होला । प्रहरीमा पुरानो विरासतका कारण म शासक हुँ भन्ने बुझाइ देखिन्छ । त्यो सोचबाट प्रहरी प्रशासन मुक्त हुनुपर्छ । प्रहरीले पनि मैले यही समाजका लागि प्रशासन चलाउने भनेर बुझनु आवश्यक रहेको छ ।

LEAVE A REPLY