चोरीको आरोपमा दुई पर्यटकलाई डुलाइयो



जाकार्ता (एजेन्सी) इन्डोनेसियाको एउटा टापुमा बाइसाइकल चोरेको आरोपमा दुईजना अष्ट्रेलियाली पर्यटकलाई सार्वजनिक बेइज्जत गर्दै सडकमा परिक्रमा गराइएको छ । ‘म चोर हुँ, मैले जस्तो नगर्नु होला‘ लेखिएको कार्डबोर्ड घाँतीमा झुण्ड्याएर परिक्रमा गराइएका ती महिला र पुरुषको पहिचान भने खुलाइएको छैन ।

२० देखि ३० बर्ष बीचको उमेरका ती संदिग्धहरु पर्यटकहरुको हटस्पटबाट दुईवटा बाइसाइकल चोरी गरिरहेको अवस्थामा सीसीटिभीमा भेटिएको दस्टारडटकमडटएमवाइले समाचारमा उल्लेख गरेको छ ।

घटना भएको टापुस्थित गाउँका प्रमुख मुहमद तौफिकले एएफपीलाई भने– हामीले उनीहरुलाई छानबिन गर्यौं, टापु वरिपरि परिक्रमा गराई गिली छाड्न लगाउने एउटा सहमति पनि बनायौं । सार्वजनिक बेइज्जत गर्ने उक्त परिक्रमा हाम्रो गाउँको नियम हो । उनीहरु विरुद्ध प्रहरीले मुद्दा चलाउँछ वा चलाउँदैन भन्ने विषयमा मलाई थाहा छैन । उनीहरु गएपछि यो विषय मेरोलागि कुनै अर्थ रहेन ।

सार्वजनिक बेइज्जत गर्नु मध्य इन्डोनेसियाली गिली ट्रवांगान टापुमा प्रचलित सजायँ हो । गिली टापुमा अपराध गर्नेहरुलाई सार्वजनिक बेइज्जत गर्न परिक्रमा गराउनु सामान्य हो तर यसको सुरुवाट कहिले देखि भयो भन्ने कुरा प्रष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्