पोखराको र्याम्पमा करिश्मा



पोखरा, (नेस)। पोखरामा वर्षेनि विभिन्न इभेन्ट हुँदै आएका छन्। सांगीतिक इभेन्टदेखि ट्यालेन्ट शोसम्मले पोखरालाई मनोरञ्जनात्मक दृष्टिकोणले व्यस्त बनाइरहेको छ। पोखरा उद्योग वाणिज्य संघले पनि आफ्नो ११ दिने राष्ट्रिय औद्योगिक व्यापार मेलामा सदावहार नायिका करिश्मा मानन्धरलाई र्याम्पमा क्याटवक गराउँदै फेसन शो गर्यो।

पुसको चिसो मौसमलाई तताउँदै आयोजित फेसन शोमा नायिका मानन्धरसँगै मोडलहरू विभिन्न पहिरनमा र्याम्पमा उत्रिएका थिए। होटलहरूमा हुने फेसन शोभन्दा केही फरक व्यापार मेलामा बनाइएको र्याम्पमा रातको समयमा रंगीचंगी बत्तीले पनि फेसन शोलाई निकै आकर्षित बनाइदिएको थियो। त्यसमा पनि नायिका मानन्धरको उपस्थितिले फेसन शोमा उपस्थित भएका युवापुस्ता भुतुक्कै भएका थिए। पछिल्लो समयमा राजनीतिमा लागेकी करिश्मालाई देखेपछि दर्शकहरू दंग परे।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलामा चेरिस्मा फेसन सोमा करिश्मा बिरालोको चाल मार्दै र्याम्पमा उत्रिएकी थिइन्। कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न फेसन शोमा उनीसहित प्रियंका महर्जन, प्रगति श्रेष्ठ, जेनी जेनसेमी, ममता खड्काका साथमा पोखरेली कलाकारहरू र्याम्पमा उत्रेका थिए। ड्रेसको डिजाइन चेरिस्मा इम्पोरियमका सञ्चालिका सीता बरालले गरेकी थिइन्। शोमा नायिका मानन्धरले आफूले अभिनय गरेको फिल्मको गीतबाट दर्शकलाई नचाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्