सत्यता पत्ता लगाइयोस्



काभ्रेको सानोवाङथली गाविस–७ की ३२ वर्षीया लक्ष्मी परियारको हत्याको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेको छ । यो घटनालाई गृहमन्त्रीले समेत चासो दिएका छन् । दलित महिलालाई बोक्सीको आरोपमा दिसा खुवाएर कुटपिट गरी हत्या गरिएको भनेर घटनाको फरक–फरक तथ्य पनि बाहिर आइरहेको छ । तर उनकै श्रीमान् मिलन परियारले गत मंसिर २४ गते बिहान पशुलाई झैँ कुटपिट गरेपछि सहन नसकेर घरबाट भाग्दै गर्दा लक्ष्मीको लडेर मृत्यु भएको अनुसन्धानले देखाइरहेको छ ।

स्थानीय विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक हीरा लामा र उनकी ५५ वर्षीया आमा काइँली तामाङलाई २० गते लक्ष्मीले बोक्सी भन्दै अपशब्द बोलेपछि सहन नसकेर लक्ष्मीलाई कुटपिट गरेको र काइँली तामाङले सुँगुरको दिसा गालातिर दलिदिएको भन्ने कुरा पनि बाहिर आएको छ । साथै यस घटनाको चार दिनपछि उनकै श्रीमान्सँग भएको झगडामा श्रीमान्ले लाठी, लात्ती र हातले लक्ष्मीलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रत्यक्षदर्शीहरूको भनाइ सार्वजनिक भैरहेको छ ।

यो घटनाबारे दलित आयोग, मानवअधिकार आयोगले समेत अनुसन्धान गरिरहेको छ । घटना अतिरञ्जित भएको भन्दै आयोगको टोलीसँग गाउँलेहरूले अझै खुलेर कुरा गर्न सकेका छैनन् । वास्तविक कुरा भनेमा दुःख पाइने भन्दै देखेको कुरासमेत भन्न डराएको स्थानीयहरूले बताएका छन् । घटनापछि प्रहरीले आरोपित लक्ष्मीका श्रीमान्सहित हीरा लामालगायत अन्यलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । श्रीमान् मिलनले लक्ष्मीलाई कुटपिट गर्नुअघि जेठो छोरालाई स्थानीय पाँचभाई तामाङको घरमा गाई बिक्री गर्ने विषयमा खबर गर्न पठाएर श्रीमतीलाई लाठोले आक्रमण गरेको नयाँ तथ्य पनि बाहिर आएको छ । बोक्सी आरोपमा कुटपिट मात्र हैन, हत्या हुनुको समग्र विषय अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर दोषी देखिएका सबैलाई कारबाही गर्न माग भैरहेको छ ।

ग्रामीण भेगमा यस्ता हत्याका घटना धेरै हुने गरे पनि सीमित घटना मात्र चर्चा हुने गरेको पाइन्छ । दलित, गैरदलित कुनै पनि महिलामाथि हुने हिंसा रोक्नै पर्छ । कानुनमा छुवाछूत, भेद्भावजस्ता सामाजिक विषयको अन्त्य गरे पनि समाजमा अझै यस्ता भेद्भाव हुने गरेका छन् । बोक्सी आरोपमा महिलामाथि कुटपिट हुने गरेका छन् । यसलाई नकार्न सकिँदैन । तर अन्य कारणले मृत्यु भए पनि यही सामाजिक भेद्भावलाई देखाएर घटनालाई अतिरञ्जित गर्ने प्रचलन पनि हाम्रो समाजमा कायमै छ । गल्तीअनुसारको सजायँ सबैले पाउनै पर्छ । घटनाबारे चासो दिइरहेका अधिकार सम्पन्न आयोग तथा अनुसन्धानमा खटिएका प्रहरीहरूले प्रभावमा नपरी लक्ष्मी हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने वातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्