१० कलाकार कांग्रेसमा प्रवेश



बुधबार बिहान बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा भएको एक कार्यक्रमका बीच झन्डै एक दर्जन कलाकार विधिवतरूपमा सो पार्टीमा प्रवेश गरेका छन्। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासहित अभिनेता रमेश बुढाथोकी, नायिका रिस्ता बस्नेत, नवअभिनेतृ नम्रता योगी, गायक युवराज चौलागाईं, नृत्य निर्देशक पुनम राई, मोडलद्वय प्रतीक्षा खड्का र रन्जु सुनाम देउवाको हातबाट टीका लगाई नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। नायिका रिस्ताको पार्टी सदस्यता उनको अनुपस्थितिमा उनकी आमा मेकअपम्यान तथा अभिनेतृ (नक्कली हिसिला यमी) विपना बस्नेतले ग्रहण गरेकी थिइन्।

फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका पदाधिकारीको उपस्थितिमा कलाकारहरूले नेपाली कांग्रेसको पार्टी सदस्यता लिएका हुन्। सो अवसरमा कांग्रेस सभापति देउवाले कलाकारहरूको क्षेत्र महत्त्वपूर्ण क्षेत्र भएको चर्चा गर्दै पार्टीले उनीहरूलाई उच्च सम्मान दिने दाबी गरे। उनले पूर्वअमेरिकी राष्ट्रपति तथा हलिउड अभिनेता रोनाल्ड रेगनको समेत उदाहरण दिँदै कलाकारहरूको संलग्नता पार्टीका लागि प्रभावशाली हुने विश्वास व्यक्त गरे। त्यसै गरी चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्रकर्मीले राजनीति गर्नुहुँदैन भन्ने सोच गलत भएको चर्चा गर्दै कलाकार सचेत वर्ग भएकाले राजनैतिक पार्टीमा लाग्नु जरुरी भएको दाबी गरे। अभिनेता रमेश बुढाथोकी र कलाकार संघका अध्यक्ष रामकेशरी बोगटीले आफूहरू लोकतान्त्रिक र प्रजातान्त्रिक विचारधारको भएकाले औपचारिकरूपमा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको बताए भने चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले लोकतान्त्रिक कलाकारहरू पार्टीमा प्रवेश गर्नु खुसीको कुरा भएको बताए।

प्रतिक्रिया दिनुहोस्