१० गाविसको मालपोत सेवा अनलाईनबाट



मोतीराम तिमल्सिना, काभ्रे ।
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १० गाविसका सर्वसाधारणलाई अनलाईनबाट सेवा दिन शुरु गरेको छ । उक्त सेवाको शुभारम्भ भूमिसुधार तथा ब्यवस्था मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बुधबार एक कार्यक्रमका बीच गएिको छ ।

जग्गाधनीहरु टिकाराम तामाङ, कृष्णबहादुर तामाङ र धमाईसिं तामाङलाई पहिलो अनलाईन सेवाबाट जग्गाधनी दर्ता पुर्जा वितरण गरि शुरु गरिएको थियो । मालपोत कार्यालय काभ्रेका प्रमुख टंकप्रसाद उपाध्यायले अनलाईन सेवालाई अझै प्रभावकारी बनाउन आगामी दिनमा थप कार्यक्रमहरु आयोजना गर्ने बताएका थिए ।

जिल्लाको तत्कालिन पाँचखाल नगरपालिकामा गाभिएको भमरकोट र साठिघर भगवती गाविस, दाप्चा काशिखण्ड नगरपालिकाको खनालथोक, पनौती नगरपालिकाको इन्द्रेश्वर गाविस, सरमथली, च्याम्ब्राङ्गबेशी, गोठपानी, वेखसिम्ले र वनखु गाविसका सर्वसाधारणलाई मालपोत कार्यालयले अनलाईन मार्फत सेवा दिनेछ । मालपोत अधिकृत विनोद कोईरालाले यि गाविसका सर्वसाधारणको काम अनलाईनबाट दिने ब्यवस्था शुरु गरिसकिएको बताए ।

कार्यक्रममा बोल्दै सचिव सापकोटाले नागरिकहरुको सेवालाई प्रभावकारी बनाउन अनलाईन सेवा महत्वपूर्ण हुने बताए । पहिलो चरणमा नेपालका १४ जिल्लामा यो सेवा शुरु गर्ने लक्ष्य लिएको सरकारले ९ जिल्लामा यस अघि शुरु गरिसकिएको र काभ्रेपलाञ्चोक जिल्लामा शुरु भएपछि दश जिल्लाका नागरिकहरुले पुर्ण रुपमा अनलाईन सेवा प्राप्त गर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका रामेश्वर दंगाल, भुमिसुधार तथा ब्यवस्था मन्त्रालयका सह सचिव नागेन्द्र झा, सह सचिव शंकरबहादुर थापा, माधव गर्तौला, विभागका महानिर्देशक टिकारा घिमीरे, सुचना विभागका महानिर्देशक रामदत्त भट्ट, भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रका प्रमुख मोहनचन्द ठकुरी, प्रमुख जिल्ला अधिकारी शिव सिखडा लगायतले नागरिकलाई दिने सेवामा अनलाईन सेवाले थप सहयोग पु¥याउने बताएका थिए ।

कार्यक्रममा अनलाईनबाट सेवा दिन शुरु गरिएको तीन वर्ष पुगिसक्दा समेत सबै कार्यालयहरुमा यो सेवा पु¥याउन कठिनाई भएको बारेमा कर्मचारी तथा लेखापढी ब्यवसायीहरुले तालिमको माग गरेका थिए । लेखापढि ब्यवसायीहरुले अनलाईन सेवाबाट सर्वसाधारण लाभान्वित भए पनि त्यसको डाटा भारतमा पुग्ने भन्दै लेखापढी ब्यवसायीका केन्द्रिय अध्यक्ष सिताराम दाहालले डाटा सुरक्षित गर्न सिंहदरवारमा यसको कार्यालय राख्न माग गरेका थिए ।

सोहि कार्यक्रममा लेखापढी ब्यवसायी संघ काभ्रेका अध्यक्ष रोशनकुमार श्रेष्ठले ब्यवसायीहरुले ब्यहार्दै आएको आरोप चिर्न मालपोत कार्यालयले थप ब्यवस्थित र प्रमाण संकलन गरी जग्गा सम्वन्धी कारोवार गर्नु पर्ने बताएका थिए । अनलाईनबाट सेवा दिन थालेपछि घण्टौ मालपोतको सेवा लिन बस्नु पर्ने झण्झट अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्