उद्यममा भूकम्पपीडितहरु



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
चिटीक्क परेको भवन । डेढवर्षसम्म नीजि घरहरु ठडिन नसकेपनि यहि भवनले फुल्पिङडाँडा गाउँ विकास समिति–५ स्थित दमाईगाउँको शोभा बढाएको छ ।

भूकम्पको डेढ वर्ष बितिसक्दा पनि घर बनाउन नसकेकोमा स्थानीय चिन्तित त छन्, तर गाउँमै उद्यम गरेर आत्मनिर्भर बन्नका लागि साझा सुविधाकेन्द्र भवन बनेपछि उनीहरुको मुहारमा खुशी फर्किएको छ । साझा सुविधा केन्द« भवन सँगसँगै पेशालाई व्यवसायिक रुपमा अघि बढाउन आधुनिक मेसिन उपकरण पनि पाएपछि उनीहरु सामुहिक रुपमा द्यमशीलतामा लागिपरेका छन् ।‘कपडा गाउँमै तयार हुन्छ, काठमाडौसम्म पुय¥याँछौं ।’, भरिमल गार्मेन्ट उद्योगका अध्यक्ष शेरबहादुर नेपालीले उत्साह झल्काए ।

गाउँमै गार्मेन्ट आएपछि दलित समुदायमा खुसीयाली

चार महिनाअघि नै निर्माणसम्पन्न भएपनि साझ सुविधा केन्द्र भवनको केहि दिनअघिमात्रै उद्घाटन भयो । उद्घाटनमा ढिलाई भएपनि उद्यमी समुहले भरिमलबाट साउनदेखि नै कपडा सिलाईको काम सुरु गरेको थियो । टलक्क टल्कने सेता मेसिनमा बसेर उद्यमीहरु कपडा सिलाइरहेका हुन्छन् । आधुनिक मेसिनमा आधुनिक शैलीकै प्रयोग । परम्परागत शैलीमा खुट्टा दुख्नेगरि प्याडल चलाउन पर्दैन । न त हातै गल्ने गरि कल घुमाउनु नै पर्छ । मेसिनहरु विद्युतबाटै चल्छन् ।

पुर्खयौली पेसा, पितापुर्खाबाट सिकेको सीप । फुल्पिङडाँडा गाउँ विकास समिति–५ का धनबहादुर दमाईले एक दशक भन्दा बढि समय काठमाडौंमा बिताए । गाउँमा भनेजस्तो रोजगारी भएन, भएको सीपले परिवार पाल्नै धौ धौ । परिवार सुखको सपनासँगै पुर्ख्यौली पेसा अंगालेर सहर भासिएका उनको एक दशकको समय ज्यालादारीमै बित्यो । झण्डै डेढ दशकसम्म काठमाडौमा कल घुमाए उनले, तर आफ्नै जिन्दगीको कल घुमेन उनका लागि ।

कपडाहरुसँगै सुखी जिवन सिउने अभिलाषामा सहर भाषिएका उनले यसवीचमा आर्थिक उपार्जन गर्न सकेनन् । उनकै कटाई र सिलाईको सीपले काठमाडौं ठाँटीइरहँदा उनी काठमाडौंमा टीक्नसक्ने सम्म अवस्था रहेन । तरपनि त्यही पापी सहरमा सीपसँगै पसिना बेचेर बस्नुको बिकल्प थिएन उनीसँग । भूकम्पपछि संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमले शीघ्र उद्यम पुनरोत्थान कार्यक्रम संचालन गरेपछि धनबहादुर जस्तै काठमाडौंमा घाटाको सीप ब्यापार गरिरहेकाहरु गाउँ फर्किएका छन् ।

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत जिल्ला लघु उद्यमी संघ सँगको समन्वयमा घरेलु तथा साना उद्योग विकास समितिले गाउँमा साझा सुविधा केन्द्र भवन बनाइदियो । शीघ्र उद्यम पुनरोत्थान कार्यक्रम अन्तर्गत सिन्धु विकास केन्द्रले आधुनिक खालका १२ थान मेसिन (प्रविधि) उपलव्ध गरायो । गाउँमै गार्मेन्ट उद्योग संचालनमा आएपछि ठूला तथा बाक्ला ज्याकेटहरु पनि यहि तयार भैरहेको भरिमल गार्मेन्ट उद्योगका सदस्य कुलबहादुर दमाईले सुनाए ।‘गार्मेन्ट आयो अनि गाउँ फर्कियौं’, वर्षौसम्म काठमाडौंमा सीप बेचेर गाउँ फर्किएका उनले भने,–‘सवै खालका कपडा यहिँ तयार हुन्छ, अर्डर अनुसार तयार गरि पठाइरहेका छौं ।’ उद्योगमा २५ जना सदस्य रहेपनि ९ जना मात्र नियमित रुपमा काममा आउने गरेका छन् ।

सवै सदस्यहरुलाई एक महिनाको तालिम दिइएको भएपनि ९ जना मात्र काममा आउने गरेको समुहका कोषाध्यक्ष प्रेमबहादुर नेपालीले बताए ।‘दिदिबहिनीहरु घरकै काममा लाग्नुभो, गार्मेन्टमा समय दिनुभएन’, विशेषगरि महिलाहरु नियमित काममा नआएको प्रति इंगित गर्दै उनले भने । गार्मेन्ट संचालन भएपनि दमाइटोलका स्थानीयको सामाजिक हैसियत पनि बढेको प्रेमबहादुरले बताए ।

नीजि आवास पुननिर्माणका लागि अधिकांश भूकम्पपीडितले सरकारी अनुदानको पहिलो किस्ता पाइसकेका छन् । पुननिर्माणले गति लिइरहँदा मांखा गाउँ विकास समिति –१ स्थित फाँटबस्तिमा स्थानीय लोकबहादुर बिक धमाधम इटा बनाइरहेका छन् । भूकम्पमा ध्वस्त गाउँबस्ति पुननिर्माणको चटारो सुरु भएसँगै लोकबहादुरलाई भने आफ्नै गाउँको माटोबाट ईटा बनाउने चटारो छ । लघु उद्यम विकास कार्यक्रम, घरेलु तथा साना उद्योग विकास समिति र जिल्ला लघु उद्यमी संघको सहयोगमा फाँटबस्तिमा संचालनमा ल्याइएको हिमचुली इन्टरलक ईटा उद्योगमा लोकबहादुरसँगै अरु ९ जना उद्यमीहरु नियमित काममा खटिइरहेका छन् ।

उद्योगबाट दैनिक ५ सय वटासम्म इन्टरलक ईटा उत्पादन भैरहेको छ । सिन्धु विकास केन्द्रले तालिमसँगै प्रविधि हस्तातरण गरेपछि हिमचुलीले ईटा उत्पादन सुरु गरेको थियो । पुननिर्माणको काम सुरु भएपछि इन्टरलक ईटाको माग बढिरहेको हिमचुली इन्टरलक ईटा उद्योगका सदस्य समुन्द्र तामाङले बताए । बजारमा माग बढिरहेपनि पुननिर्माण प्राधिकरणले इन्टरलक ईटालाई मान्यता नदिँदा बिक्रि गर्न भने समस्या भैरहेको उनले सुनाए ।‘गुणस्तरको प्रमाणपत्र पनि पाईयो तर पुननिर्माणका लागि इन्टरलक ईटालाई मान्यता दिएको छैन’, उनले भने–‘यसको आकार नै ६ ईन्च हुन्छ, अबको पुननिर्माणमा न्युनतम ९ ईन्चको गारो भनेपछि सवै अन्यौलमा छन् ।’ चिम्ट्याइलो माटो, सिमेन्ट र डष्टको मिश्रण गरि बनाइएको यो ईटा अन्य ईटा भन्दा बलियो र राम्रो हुने उनले बताए ।

भीरपाखामा खेर गइरहेका झारपातमा नै पैसा छ । रोजगारीका सुनौला अवसर खोज्दै शहर पस्ने अनि बिदेश भासिनेको ताँती लामो नै छ । आफ्नै वासना पत्तो नपाएर भौंतारीएको कस्तुरी झैं गाउँमा संभावना नदेखेर मानिसहरु खाडीमा पसिना बगाइरहेका छन् भन्ने कुरा अत्तरपुर र लिसंखु पुग्दा भान हुन्छ । लिसंखु, अत्तरपुर भेगमा संचालित ब्रिकेट उद्योगहरु नै यसका लागि दरिला उदाहरण हुन् ।

भीरपाखा र झाडीका हाडे उनिउ र बनमाराबाट गोल बनाई यहाँका स्थानीयले त्यही गोलको धुलोबाट ब्रिकेट उत्पादन गरिरहेका छन् । कालो कोइलामा सुनौलो भविष्य खोजिरहेका छन् अत्तरपुर र लिसंखुवासीहरु । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग विकास समिति र लघु उद्यमी संघको सहयोगमा यस क्षेत्रमा ब्रिकेट उद्योगहरु संचालनको क्रम बढेको छ ।

यहाँ उत्पादित ब्रिकेट माग अनुसार काठमाडौंमा निर्यात हुने गरेको छ । ब्रिकेट उद्योगले व्यवहार धान्न सहज भएको लिसंखु ८ की स्थानीय निलकुमारी श्रेष्ठ बताउँछिन् ।‘दिनमा ५ सय सम्म कमाई हुन्छ’, स्थानीय तिनचोक ब्रिकेट उद्योगमा ब्रिकेट बनाउँदै गरेकी उनले भनिन् । भूकम्पपछि शीघ्र उद्यम पुनरोत्थान कार्यक्रम अन्तर्गत तिनचोक ब्रिकेट उद्योगको साझा सुविधा केन्द्रको भवन निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्