गर्जिए ज्ञानेन्द्र–‘राष्ट्रलाई कमजोर बनाउने काम अशोभनीय र असैह्य’



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । बुधबार साँझ एक वक्तव्य जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको समेत बताउनुभएको छ ।
राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताउँदै उहाँले वक्तव्यमा नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको र आज नेपाली बीचको समाजिक सद्भाव मेटिँदै गएको जनाउँदै तराई, पहाड र हिमाल माझको ऐक्यभावलाई तोड्न भगीरथ प्रयत्न भइरहेको बताउनुभएको छ । क्रान्तिकारी, परिर्वतनकारी, वलिदानी जस्ता शब्दको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर बनाउने काम भएको भन्दै उहाँले ‘यो अशोभनीय मात्र नभई असैह्य पनि बनिरहेको छ ।’

 

निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु बलियो नहुने र इतिहासलाई कलंकित गर्दै निहित स्वार्थ पुरा गर्न गरिएको काम प्रशंशित नहुने भन्दै पूर्व राजाले माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति दिन सक्दैन भन्नुभएको छ ।नेपाल र नेपालीको अजय शक्तिको रक्षा गर्न अपिल गर्दै पूर्व राजाले वक्तव्यमा भन्नुभएको छ – ‘समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।’

प्रतिक्रिया दिनुहोस्