बाबुको प्यारालाइसिस्, छोराको दुबै मृगौला फेल



जिल्लाको चण्डेनीमण्डन गाविस– १ कान्तिटार निवासि राजु नेपाल विगत १५ वर्ष देखि प्यारालाईसिस भएर ओछ्यान परेका छन् ।

त्यतिबेला गाउँकै भिरबाट लडेर उनी प्यारालाइसिसका बिरामी भएका हुन् । त्यस यता उनको आधा शरिर चल्दैन । दिशापिसाब गर्नका लागि पनि पाइप लगाउनु पर्ने अवस्था छ । उनलाई रेखदेख गर्न परिवारका सदस्यहरुले दैनिक रुपमै धेरै समय छुट्याउनु पर्छ । तर यतिबेला यस परिवारमा अर्को बज्रपात परेको छ । परिवारका एक्ला छोरा २२ वर्षिय बिशाल नेपालको दुबै मृगौला फेल भएको छ । जहाँ गारो त्यहि सारो भनेझैं बाबुको उपचारका लागि खर्च र समय मिलाउनु पर्ने अबस्थाका विशाल अहिले आफैं गम्भिर विरामी परेर निदान अस्पताल पुल्चोकमा मृगौलाको उपचार गराइरहेका छन् । उनको उपचार गर्न अस्पतालले १५ लाख रुपैयाँ खर्च लाग्ने बताएको छ । तर आर्थिक रुपमा पनि कमजोर यो परिवारलाई सहयोग गर्ने कोहि पनि छैनन् ।

गाउँमा भएको एउटा सानो घर पनि गतवर्षको भूकम्पले खण्डहर बनाइदिएको छ । अहिले यो परिवार राजधानीकै पेप्सीकोलामा भाडाको भरमा बस्दै आएको छ । परिवारको आर्थिकस्रोत केहि पनि छैन । यसअघि विशालले काम गरेर परिवार खर्च र बाबुको उपचारका लागि खर्च जुटाउँदै आएका थिए । तर अब उनी पनि बिरामी भएर इन्तु न चिन्तुको अवस्थामा पुगेपछि भगवान भरोसाकै भरमा परिवार चलेको छ । परिवारले मनकारी दातासँग सहयोगका लागि अनुरोध पनि गरेको छ । कसैले सहयोग गरे मात्र आफ्नो उपचार हुन सक्ने विशालले झिनो आशा राखेका छन् । सहयोग गर्न इच्छुक दाताका लागि नेपाल इन्भेष्टमेन बैंकमा रहेको बिशाल नेपालको खाता नं. ०१२०५०८०४६०१९४ मा रकम जम्मा गर्न वा ९७४१०४८२२८ मा सम्पर्क गर्न उनको परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्