पतञ्जलीलाई छुट, जनतालाई सास्ती



 

मोतीराम तिमल्सिना
काभ्रे
भारतीय योग गुरु रामदेवले संचालन गरेको पतञ्जली योग समितिले खरिद गरेको २ सय भन्दा धेरै रोपनी जग्गामा हदबन्दी दिएको सरकारले कृषकहरुकै लगानीमा खोलिएका उद्योग तथा फर्महरुमा भने हदबन्दी दिएको छैन । जिल्ला मालपोत कार्यालय काभ्रेपलाञ्चोकले हदबन्दी भन्दा धेरै जग्गा राखेको भन्दै छानविनका लागि विभागमा सिफारिस गरेको छ ।
पतञ्जली योग समितिका नाममा जिल्लाको सदरमुकाम धुलिखेलमा मेडिकल कलेज संचालन गरिएको छ भने चलाल गणेस्थान लगायतमा २ सय भन्दा धेरै रोपनी जग्गा खरिद गरि राखिएको छ । सरकारबाट हदबन्दी सुविधा लिएर पतञ्जली योग समितिले जग्गा खरिद गरिरहेको छ । २०२१ सालमा जारी भएको भूमि ऐनले दिएको जग्गाको हखवन्दी सिमालाई २०५८ सालको शंशोधित ऐनले परिमार्जन गरे पनि अब्यवस्थित प्रणालीका कारण हदवन्दी जग्गा खोज्नै कठिन भएको छ । जिल्लामा भेटिएको प्रारम्भिक तथ्याङ्क अनुसार मेच्छे गाविसमा ८६ रोपनी ६ जना भन्दा धेरैको जग्गा रहेको छ भने १ सय १, १ सय २१ रोपनीसम्म जग्गा हुने ब्यक्तिहरु छन् ।

 

रयाले गाविसमा ९० रोपनी भएका एक जना ब्यक्ति छन् । नयाँगाउँ गाविसमा ८७ र ८० रोपनी ब्यक्तिका नाममा छ भने हिमाल एग्रो फार्मेसीका नाममा १ सय रोपनी, नगरकोट मल्टीपरपोजका नाममा १ सय रोपनी, हिमाल एग्रोफरेष्टिका नाममा ९३ रोपनी र इको आर्गानिक फार्मका नाममा ९० रोपनी जग्गा खरिद गरिएको छ । पोखरीनारायणस्थानमा ८५ देखि २ सय ७ रोपनीसम्म जग्गा खरिद गरेर राखिएको छ । ६ जना ब्यक्तिहरुले ८५, ९१, ९६, १२२, १४४, २०७ रोपनी जग्गा आफ्नो नाममा राखेका छन् ।
त्यस्तै बनखु गाविसमा ७६ रोपनी, खनालथोक गाविसमा १०८, चापाखोरी गाविसमा १ सय रोपनी, तत्कालिन मेथिन्कोटमा गाविस ८१ रोपनी, मंगलटारमा १ सय १० रोपनी र ८१ रोपनी, नाल्दुम वालुवापाटी देउपुर गाविसमा १ सय ४ रोपनी, भिमखोरी गाविसमा ९८ रोपनी, कालिञ्चोक गाविसमा १ सय ४५ र ८० रोपनी, बुढाखानी गाविसमा ८१ रोपनी, शिखरआम्बोटे गाविसमा ८३ र ७८ रोपनी, भमरकोटमा १ सय ४० रोपनी, कुशादेवी गाविसमा पाथिभरा फर्मका नाममा १ सय ४० रोपनी, फुल्चोकी फार्मका नाममा १ सय ९४ रोपनी र कुशादेवी ५ मा ९० र १ सय ८२ रोपनी जग्गा खरिद गरिएको छ । त्यस्तै बालुवा गाविसमा १ सय ७२ रोपनी, मंगलटारमा १०७ रोपनी, तत्कालिन दाप्चा छत्रेबाँझ गाविसमा ७९ रोपनी, साल्मेचाकल गाविसमा १ सय रोपनी, खहरेपाँगुमा ९१ रोपनी, पाँचखालमा हिमालय रेन्ज भ्यु रिसोर्टका नाममा १ सय ७५ रोपनी र पञ्चकुमारी रेन्ज भ्यु रिसोर्टका नाममा १ सय ७५ रोपनी जग्गा खरिद गरिएको छ ।
कम्प्युटर प्रणालीमा श्रेस्ता दर्ता गर्ने प्रणाली हुन नसक्दा ब्यक्ति, कम्पनी वा संस्था जसको नाममा भए पनि कति कति छ ? उसको परिवारका नाममा कति छ ? खुलाउन सकिएको छैन । जसका कारण हदवन्दीको सिमा भन्दा धेरै भूमिहुनेहरुबाट राज्यले जग्गा फिर्ता गराउन सकेको छैन । भुमि ऐन २०२१ मा ब्यक्तिले ८० रोपनी जग्गा र १६ रोपनी घर घडेरी राख्न पाउने ब्यवस्था गरिएको छ भने शंशोधन गरिएको ऐन २०५८ ले ७० रोपनी जग्गा र ५ रोपनी घर घडेरी राख्न पाउने ब्यवस्था गरेको छ । देशैभर ऐनले तोकेको भन्दा धेरै जग्गा हुनेहरुको संख्या हजारौ छ तर राज्यले कानुन कार्यान्वयन गराउन सकेको छैन । त्यसको दुईवटा कारण मध्ये पहिलो अब्यवस्थित श्रेस्ता प्रणाली, दोश्रो संक्रमणकालिन अस्थिर राजनीति । त्यसकै फाईदा उठाउँदै सयौ ब्यक्तिहरुले हदबन्दी भन्दा धेरै जग्गा हुँदा पनि किनबेच गरिरहेका छन् । कम्पनी, उद्योगका नाममा खरिद गरिएका जग्गाहरु ओगटेर राखिएका छन् ।

केहिले मन्त्रिपरिषद्बाटै निर्णय गराएर विक्री वितरण गरी सट्टामा महङ्गो जग्गा विक्री गरी सस्तो जग्गा खरिद गरेका छन् । जिल्ला मालपोत कार्यालय काभ्रेले पछिल्लो समय तयार पारेको प्रारम्भिक प्रतिवेदन विभागमा बुझाएको छ । ऐनले तोकेको भन्दा धेरै जग्गा हुने ५० भन्दा धेरै ब्यक्ति तथा फर्महरुको नामावली बुझाईएको मालपोत श्रोतले बतायो । ऐनले तोकेको भन्दा धेरै जग्गा आवश्यक भएको अवस्थामा ३ सय रोपनीसम्म मन्त्री स्तरीय निर्णयबाट खरिद विक्री गर्न सकिन्छ भने त्यो भन्दा धेरै भएको अवस्थामा मन्त्रीपरिषद्ले मात्रै निर्णय गर्न सक्छ ।
जिल्लामा सयौ रोपनी जग्गा हुने केहि कम्पनी वा फर्महरुले मन्त्री स्तरीय तथा मन्त्रीपरिषद्बाट निर्णय समेत गराएका छन् । केहिले ऐनका बारेमा नबुझेकाले ऐनले तोके भन्दा धेरै जग्गा खरिद गरेको भए पनि हदबन्दीको अनुमति लिएका छैनन । ‘प्रकृया नै थाहा नभएकाले त्यो सुविधा लिएका छैनन’–मालपोत कार्यालय श्रोतले भन्यो–‘केहिले निवेदन दर्ता गराएका छन् ।’ सरकारले कृषि, विद्यालय, उद्योग, ब्यवसायका लागि खरिद गरिएको जग्गामा हदवन्दी छुट दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्