(दीर्घराज श्रेष्ठ) नेपालमा स्थापना भएका अन्य विश्वविद्यालयमध्ये काठमाडौं विश्वविद्यालय विभिन्न कारणले गर्दा फरक छ । यो विश्वविद्यालय नेपालमा २०४६ सालको जनआन्दोलनपछि स्थापना भएको निर्वाचित जनप्रतिनिधिहरूको संसद्ले विशेष आवश्यकता महसुस गरी विधेयक पास गरेर स्थापना भएको हो । यो विश्वविद्यालयमा नेपालको इतिहासमा पहिलोपल्ट राजालाई कुलपति बनाउने प्रथालाई अन्त्य गरी जननिर्वाचित प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रथाको शुरुवात गरिएको थियो । यो संस्था स्थापना गर्नका लागि स्थानीय नगरपालिकाले सित्तैमा जग्गा र आफ्नो सीमित बजेटको बाबजुद भौतिक संरचना बनाउन उल्लेख्य मात्रामा स्रोत परिचालन गरी स्थानीय क्षेत्रको अपनत्व प्राप्त गर्न सफल भएको थियो । सरकारको भर पर्ने परम्परालाई तोडी हामी आफैंले ठूलो विकास गर्न सकिन्छ भनेर स्थानीय दाता, संघसंस्था र मित्र राष्ट्रहरूको सहयोग एवम् सद्भावमा नाङ्गो डाँडामा विश्वविद्यालयको लागि आवश्यक भौतिक एवम् शैक्षिक आवश्यकता पूरा गर्न सफल भएको हो । परम्परागत चलनचल्तीमा रहेका शैक्षिक विषयभन्दा देशको आवश्यकता र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारको मागबमोजिम जनशक्ति तयार गर्ने उद्देश्यले यस विश्वविद्यालयमा अत्याधुनिक विषयहरूको पठनपाठन शुरु गरिएको छ ।

२०४६ को जनआन्दोलनपछि देशमा धेरै पटक राजनीतिक कारणले विभिन्न आन्दोलनहरू भए । यसले शैक्षिक संस्थाहरूको नियमित शैक्षिक कार्यक्रमहरूमा नराम्रो प्रभाव पार्नु स्वाभाविक हो । तर पनि यो संस्थाका व्यवस्थापकहरूको राम्रो सुझबुझका कारण हडताल, बन्दजस्ता कार्यक्रमलाई टाढा राखेर आफ्नो नियमित शैक्षिक क्यालेन्डरअनुसार नै शैक्षिक क्रियाकलाप सञ्चालन हुँदै आएको छ । प्रत्येक वर्ष ठीक समयमा जाँच, परीक्षाफल र दीक्षान्त समारोह गर्न सफल भएको देखिन्छ । राजनीतिक संस्थाहरूको निरन्तर प्रयासका बाबजुद पनि विश्वविद्यालयमा विद्यार्थी र प्राध्यापकहरूको युनियन एवम् संघ बनाउने कार्यबाट पनि टाढा हुन सफल भएको छ ।

स्थापनाकालदेखि करिब दुई दशकसम्म निरन्तररुपमा संस्थारुपी बिरुवालाई रोप्ने, हुर्काउने, मलजल हाल्ने, फल फलाउनेजस्ता महत्वपूर्ण कार्य गर्ने सरल, विद्वान्, निडर सबैलाई समेट्न सक्षम प्रा.डा. सुरेशराज शर्माको नेतृत्व पाउन सफल भएको थियो यो विश्वविद्यालय । उहाँको कार्यकालपछि यसको नेतृत्व धुलिखेल अस्पताललाई नेपाल एवम् दक्षिण एसियाकै एउटा उत्कृष्ट अस्पताल बनाउन सफल नेतृत्व दिएर व्यवस्थापनको अनुभव हासिल गरिसकेका प्रा.डा. रामकण्ठ माकजुले लिनुभएर संस्थाको गरिमालाई निरन्तरता दिन सफल हुनुभएको छ । यसले समुदायमा आधारित भएर स्थापना भएको धुलिखेल अस्पताललाई शिक्षण अस्पतालको रुपमा अंगिकार गरी आफ्नो गरिमालाई अझ उच्च बनाएको छ ।

यो अस्पतालसँगको सहकार्यले सुनको आँैठीमा हीरा थपिएजस्तै एक–आपसको उद्देश्य र गरिमामा थप महत्व पुग्न गएको छ । यी विशेषताहरूको कारणले गर्दा नै यो विश्वविद्यालय दक्षिण एसियाको १ सयवटा उत्कृष्ट विश्वविद्यालयमध्यमा पर्न सफल भएको छ । आफ्नै बल र प्रयासबाट केही गर्न सकिन्छ भनेर नमुना देखाउनको लागि पनि यो विश्वविद्यालय लायक भएको छ । यो विश्वविद्यालयमा पढ्नको लागि विद्यार्थी र पढाउनको लागि अभिभावकहरूले सम्मानको रुपमा लिन पाएका छन् । यहाँबाट उत्पादन भएका विद्यार्थीले देश–विदेशमा उच्च पदमा काम गरी समाजको लागि उदाहरणीय काम गरिरहेका छन् । यसको साथै यसले धेरै विद्वान्वर्गलाई देशमा नै सम्मानपूर्वक काम गर्ने वातावरण बनाई ब्रेनड्रेनको समस्यालाई कम गर्न मद्दत पुर्याएको छ । साथै विदेशमा गएर पढ्ने परिपाटीलाई कम गरी अर्बौं रुपियाँ विदेशिनबाट बचाउन सफल भएको छ ।

यो विश्वविद्यालयले प्राप्त गर्न सकेको सफलतामा यहाँका विद्यार्थी, कर्मचारी, प्राध्यापक, स्थानीय समुदाय, दाताहरू र राजनीतिक व्यक्तिहरूको सहयोग उल्लेखनीय छ । तर सबैभन्दा बढी सबै व्यक्तिहरूको सहयोग जुटाउन र हाम्रै प्रयासबाट पनि देशमा केही गर्न सकिन्छ भनेर अरुको विश्वास जित्न, आफ्नो विकासको सपनामा अरुलाई समेट्न, निराशालाई आशावादीमा परिवर्तन गर्न, जुध्न आउने व्यक्तिहरूलाई आफू अग्रपंक्तिमा बसी हराउन र विकासको अभियानमा सबै खाले व्यक्तिहरूको मन जित्नको लागि नेतृत्व दिने व्यक्तिको भूमिका सधैँ उच्च र सम्माननीय हुन्छ । त्यसैले हालसम्म यस विश्वविद्यालयले प्राप्त गर्न सकेको सफलतामा यसको नेतृत्व दिने व्यक्तिहरूको उपयुक्त छनोट र भूमिकाको छुट्टै महत्व छ । हालसम्म यो विश्वविद्यालय स्थापना भएको ५ वर्षको इतिहासमा कुनै पनि सरकारले आफ्नो राजनीतिक रंग लागेका व्यक्तिलाई उपकुलपति नबनाई विश्वविद्यायलजस्तै स्वच्छ, इमानदार, सबैलाई सहयोग लिन सक्ने, निडर र विद्वान्लाई बनाएका छन् । तर हाल यो विश्वविद्यायलको नेतृत्व चयन गर्नको लागि हालको सरकारले जुन ढिलाइ र चलखेल गरिरहेको छ, त्यो ज्यादै चिन्तनीय भएको छ ।

यो काठमाडौं विश्वविद्यायलको नेतृत्वमा उपयुक्त व्यक्तिको छनोट गर्न नसकेमा यसले हालसम्म प्राप्त गर्न सकेको सफलतामा ह्रास आउन सक्छ । राजनीतिक भागवण्डाको उद्देश्यले छनोट गरेको नेतृत्वले हालसम्म बिगार्नबाहेक सपार्न सकेको छैन । त्यसैले काठमाडौं विश्वविद्यालयको गरिमालाई बचाउनको लागि यो संस्थालाई माया गर्ने सबै संघसंस्था र व्यक्तिहरूले चनाखो भएर उपयुक्त नेतृत्वको चयन गर्नका लागि आ–आफ्नो ठाउँबाट पहल गर्नु आवश्यक छ । यदि यसमा पछि पर्यौं भने र राजनीतिक व्यक्तिहरूलाई मनोमानी गर्न दियौं भने हालको देशको अवस्थालाई भताभुङ्ग पारेजस्तै काठमाडौं विश्वविद्यालयको अवस्थालाई पनि पार्न सक्छ ।

LEAVE A REPLY