पाँचौं टेस्टमा पनि भारतकै जित



नयाँ दिल्ली, (एजेन्सी)
इंग्ल्यान्डविरुद्ध पाँचौं तथा अन्तिम टेस्ट पनि भारतले जितेको छ। यसअघि तीन लगातार टेस्ट जित्दै पहिल्यै पाँच खेलको सिरिज हात पारेको भारतले एक इनिङ र ७५ रनले जितेको हो। यो सँगै भारतले इंग्ल्यान्डसँग ४–० ले टेस्ट सिरिज हासिल गर्यो। यो भारतीय क्रिकेट टोलीको सो प्रतिद्वन्द्वीविरुद्ध लगभग ८ वर्षपछि पहिलो टेस्ट सिरिजसमेत हो।

चेन्नाईमा भएको पाँचौं टेस्टमा इंग्ल्यान्डको दोस्रो इनिङ २ सय ७ रनमा खुम्चिएको थियो। जबकि इंग्ल्यान्डले लन्चसम्म १ सय ३ रन बनाएर सबै विकेट सुरक्षित राखेको अवस्था थियो। तर लन्चपछि इंग्ल्यान्डले २६ रनका लागि चार विकेट गुमायो। चारमध्ये तीन विकेट भारतीय स्पिनर रवीन्द्र जडेजाले लिएका थिए।
जडेजाले इंग्लिस कप्तान एलेस्टर कूकलाई आउट गरेर टोलीका लागि पहिलो विकेटको स्वाद दिलाए। आगामी टेस्टमा कप्तानको जिम्मेवारीबाट हट्न सक्नेमा रहेका कूक एक रनले अर्धशतकबाट चुकेका थिए। ५४ रन बनाएर जमिरहेका किटन जेनिङ्सले जडेजालाई नै रिटर्न क्याच थमाएर पवेलियन फर्के। ६ रनमा रहेका जोए रुटलाई जडेजाले सफल रिभ्युमा क्रिजबाट अलग गरे भने जोनी बेयरस्टो १ रन बनाएर इशान्त शर्माको सिकार बनेका थिए। लगातार विकेट पतनले इंग्ल्यान्ड १०३⁄० बाट १२९⁄४ को कमजोर स्कोरमा पुग्यो।

मध्यक्रममा मोइन अलीले बेन स्टोक्ससँग साझेदारी गरेर टोलीलाई केही भरोसा दिलाए। तर जडेजाले अली र स्टोक्सको विकेट लिएपछि इंग्ल्यान्डले १५ रनको लागि बाँकी ६ विकेट सहजै गुमाउन पुग्यो। अली (४४ रन) र स्टोक्स (२३ रन) ले पाँचौं विकेटका लागि ६४ रन साझेदारी गरेका थिए। इंग्ल्यान्डको ब्याटिङ ध्वस्त बनाएका जडेजाले सात विकेट हासिल गरेका थिए। यो टेस्टमा इंग्ल्यान्डले पहिलो इनिङमा ४ सय ७७ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्