टर्कीमा रुसी राजदूतको गोली हानी हत्या



अंकारा, (एजेन्सी)
टर्कीका लागि रुसी राजदूतको हत्याको सिलसिलामा तुर्केली प्रहरीले छ जना व्यक्तिलाई हिरासतमा लिएको मंगलबार सरकारी सञ्चार निकाय एनाडोलुले जनाएको छ। सोमबार टर्कीको राजधानी अंकारामा भाषण दिँदै गर्दा राजदूत एन्द्री कार्लोभलाई उनकै पछाडि उभिरहेका एक जना अफ–ड्युटी प्रहरी अधिकारीले गोली हान्दै एलेप्पो र अल्लाहु अकवरलाई नबिर्स भन्दै चिच्याएका थिए।

प्रहरीले ती आक्रमणकारीका मातापिता, बहिनी र दुई जना अन्य आफन्त तथा उनीसँगै फ्ल्याटमा बस्ने एक व्यक्तिलाई पश्चिमी प्रान्त आइदिनमा हिरासतमा लिइएको जनाएको छ। कार्लोभको हत्या गरिएको स्थान एउटा आर्ट ग्यालरीलाई प्रहरीले पूर्ण नियन्त्रणमा लिएको थियो।

त्यसै गरी अंकारास्थित अमेरिकी दूतावास सामुन्ने सोमबार राति गोली प्रहार गरिएको घटनाको कारण अमेरिकाले टर्कीमा रहेका आफ्ना तीनवटा कूटनीतिक नियोग बन्द गर्न सक्ने जनाएको छ। कार्लोस मारिएको आर्ट ग्यालरीनजिकै रुसी दूतावास रहेको छ। प्रहरीले हत्यारालाई पनि नियन्त्रणमा लिएको छ।

रसियाको विदेश मन्त्रालयले मंगलबार दुई देशका विदेश मन्त्रीहरूबीच सो घटनापछि सोमबार राति आतंकवादविरुद्ध अझै प्रभावकारी ढंगले लड्नका लागि जोड दिइनुपर्ने भन्नेबारे फोन वार्ता भएको जनाइएको छ। राति नै रसिया, टर्की र इरानका विदेश मन्त्रीहरूबीच मस्कोमा सिरयाली समस्याबारे विस्तृत छलफल हुने कार्यक्रम रहेको थियो।

त्यसै गरी यस हत्याकाण्डको अनुसन्धानका लागि एक विशेष रुसी टोली अंकारा आइपुगेको छ। इस्लामिक स्टेट लडाकू समूहलगायत थुप्रैबाट टर्कीको सुरक्षामा खतरा रहेको छ। एउटा कट्टरपन्थी सुन्नी मुस्लिम समूहका एकजना प्रवक्ता केही समय अघिमात्र तुर्केली कूटनीतिक, सैनिक एवम् वित्तीय क्षेत्रलाई लक्षित गर्दै ताजा शृंखलाबद्ध आक्रमण आफ्ना समर्थकहरूलाई आह्वान गरेका थिए।

एक जना वरिष्ठ तुर्केली सुरक्षा अधिकारीले राजूदतको हत्यारा अमेरिकामा बसोबास गर्दै आएका तुर्केली धार्मिक नेता फेतहुल्लाह गुलेनको सञ्जालका सदस्य हुनुपर्ने बताएका छन्। गुलेनले गत जुलाईमा टर्कीमा असफल सैनिक विद्रोहको तानाबुना रचेका थिए। तुर्केली राष्ट्रपति रिसिप तायिप एर्दोगानले उनलाई आतंककारीको संज्ञा दिएका थिए। तर उक्त संज्ञा अस्वीकार गर्दै आएका उनले यस हत्याकाण्डमा पनि आफ्नो कुनै सरोकार नरहेको स्पष्ट पारिसकेका छन्। रसियाले सिरियाको एलेप्पो शहरमा लडाकूहरूविरुद्धको युद्धमा सिरियाली राष्ट्रपति बसार अल–असादलाई सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्