मन्दिरमा मानव कंकाल भेटियो



ईश्वरराज ढकाल
काठमाडौं

अठारौं शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ। पुरातात्त्विक महत्त्वको सो सम्पदा २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्दा डढेको अवस्थामा कंकाल भेटिएको हो।
चौतारिया लक्ष्मीनारायण जोशीले मल्लकालमा निर्माण गरेको जैसीदेवलमा मानव कंकाल भेटिएपछि पुरातत्त्व विभागले परीक्षणका लागि बेलायत पठाउने भएको छ। करिब १ सय फिट जमिनमुनि भेटिएको मानव कंकाल र अन्य वस्तुको अनुसन्धान गरिने भएको हो।

पुरातत्त्व विभागका प्रवक्ता एवम् प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरले केही जनावर र मानव हड्डी भेटिएको जानकारी गराउँदै सो विषयमा अध्ययन भइरहेको बताउनुभयो।उहाँले भन्नुभयो– मानव अवशेष मात्रै होइन, अन्य थुप्रै पुरातात्त्विक महत्त्वका सामग्री भेटिएको र ती सामग्री कहिले बनेका हुन् भन्ने विषयमा तिथि र मिति पत्ता लगाउने काम भइरहेको छ।

विभागले बेलायतस्थित दुरहाम विश्वविद्यालयको सहयोगमा ४० दिनसम्म ७ वटा सम्पदाको इतिहासको विषयमा अध्ययन गरेको थियो। सबै विषय अध्ययन गरी इतिहासको थप प्रमाण फेला पार्ने उद्देश्यले उत्खनन गरेको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ऐतिहासिक सम्पदाको उत्खननसँगै पुनर्निर्माण शुरु गर्नेर्छौं। विभागले काष्ठमण्डप, जैसीदेवल, जगन्नाथ, गोपीनाथ, माजुदेगः, दश अवतार र पशुपतिको गुरुज्यू सत्तलको उत्खनन गरेको थियो। उत्खननको क्रममा विभिन्न मुद्रा, ऐतिहासिक ढुंगा र माटाका सामग्री, इँट्टालगायतका सामग्री भेटिएको छ। उत्खननको क्रममा जगन्नाथ र गोपीनाथको मन्दिरको भित्री संरचना बलियो देखिएको र मन्दिरको तल्लो भाग समय–समयमा पुनर्निर्माण गरिएको फेला परेको छ। त्यस्तै जैसीदेवको भित्री संरचना अत्यन्तै बलियो रहेको र भूकम्पको कारणसमेत सो संरचनामा कुनै असर नपरेको विभागले जनाएको छ। सात स्थानको उत्खननपछि हिजो सोमबार सम्पदाका बारेमा पूर्वमन्त्री, स्थानीय दलका नेता, स्थानीय टोल सुधार समिति, क्लब र पुरातत्त्वविद्लाई जानकारी दिइएको थियो।

सो क्रममा काष्ठमण्डपको दोस्रोपटक उत्खनन गर्दा माटाका भाडा तथा माटाका खपडाहरू फेला परेको थियो। बेलायतस्थित आर्ट एन्ड ≈युमेनिटिज रिसर्चको विशेषज्ञ टोलीले राजधानीका ऐतिहासिक सम्पदाको उत्खननमा सहयोग गरेको जानकारी गराउँदै विभागका प्रवक्ता कुँवरले उत्खननको क्रममा भेटिएका सम्पूर्ण सामग्रीहरूको तिथि र मिति पत्ता लगाउने काम भइरहेको बताउनुभयो। माजुदेगल उत्खनन गर्दा तल्लो भाग कमजोर भएर भत्केको, माजुदेगको भित्री पर्खाल र फाउन्डेसन बलियो रहेको, पशुपतिस्थित गुरुज्यूको सत्तलको संरचना कमजोर भएर भत्केको फेला परेको छ।

प्रतिक्रिया दिनुहोस्