जलकुम्भी निकाल्ने मेसिनका लागि ५० लाख



नेपाल समाचारपत्र
पोखरा
वर्षायाम शुरू हुनेबित्तिकै तालको स्वरूप नै बदलिने गरी फैलिने जलकुम्भी झार न्यूनीकरणका लागि सांसद विकास कोषबाट बजेट विनियोजन गरिएको छ। एमाले सांसद तथा विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत जलकुम्भी झार निकाल्ने मेसिन खरिद गर्ने योजना सार्वजनिक गरे। आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत ५० लाख विनियोजन गर्दै तालमा वर्षेनी मौलाउने झार फाल्ने⁄निकाल्ने अभियानमा उनको गम्भीर चासो बढेको हो।

फेवातालमा जलकुम्भी झिक्ने मेसिन खरिदका लागि ५० लाख छुट्टयाएका छन्। छुट्टयाइएको रकमबाट मेसिन कहिले पोखरा आइपुग्छ भन्ने यकिन छैन्। यद्यपि उनको अभिव्यक्ति सकारात्मक भएको टिप्पणी गरिएको छ। तालमा वर्षेनी वर्षायामका जलकुम्भी मौलाउँद डुंगा सञ्चालन गर्न समेत कठिनाइ हुने गरेको छ। जसले पर्यटन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर भने पुर्याएको छ।

हिउँद याममा जलकुम्भी झार कतै देखिन्न। तर वर्षायाम लागेपछि ताल पूरै ढपक्क ढाकिन्छ। ताल नै ढाक्ने गरी फैलिएको जलकुम्भी झार फाल्न पर्यटन व्यवसायी, डुंगा व्यवसायी र सुरक्षाकर्मीसमेत परिचालित हँुदै आएका छन्। फेवाताल जलकुम्भीको जंगल गार्डेन बनेको छ, पर्यटन व्यवसायीहरू भन्छन्– झारले ताल वर्षायाममा बिजोग देखिन्छ। २०१७ सालमा ९ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको फेवाताल २०५५ सालमा आइपुग्दा ४ सय ४३ हेक्टरमा सीमित हुन पुगेको तथ्यांक छ। विभिन्न संघसंस्थाको सक्रियतामा तालबाट वर्षेनी सयौं ट्रक जलकुम्भी हटाउने गरिएको छ तर पनि न्यूनीकरण हुन सकेको छैन्।

ताल हर्पन खोलामा आउने बाढी नियन्त्रण गर्न चेक ड्याम निर्माण गरिए पनि तालसँगै जोडिएको खेतबारीमा प्रयोग गरिने रासायनिक मलले झार दोब्बर फैलिँदै गएको सम्बन्धित अधिकारीहरू बताउँछन्। पानीमा तैरिने जलकुम्भी वर्षेनी निस्कन्छ। पानीमा नाइट्रोजनको मात्रा बढ्दै गएपछि जलकुम्भी झार मौलाउँदै जान्छ। तालको संरक्षणका लागि जलकुम्भी झार नियन्त्रण गर्नुपर्ने खाँचो औंल्याइँदै आएको अवस्थामा सांसद अधिकारीको पहल सह्रानीय भएको सरोकार निकायवालाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्