अनुदान सम्झौता हुने छाँटकाँट देखिएन लाङटाङका ४० घरधुरीले घर बनाए



हिमनाथ देवकोटा, रसुवा

सुवाको पर्यटकीय क्षेत्र लाङटाङमा अनुदान सम्झौता नभएपछि लाङटाङबासी आफैं पुनर्निर्माणमा जुटेका छन्। भूकम्प गएको २० महिना बित्दासमेत लाङटाङमा अनुदान सम्झौता हुन नसक्दा लाङटाङबासीले धमाधम घर बनाउन थालेका छन्। भूकम्पका कारण हिमपहिरो खसेर बगरमा परिणत भएको लाङटाङ नजिकैको सुरक्षित स्थान तथा क्यान्जिङ हिम उपत्यकामा अहिले ४० भन्दा बढी घर बनिसकेका छन् भने २७ घर बन्ने तयारीमा रहेको छ।

स्थानीय कर्म तामाङले भन्नुभयो– आवास निर्माणका लागि अनुदान दिन सरकारले ढिलाइ गरेपछि हामी आफैं घर बनाउन थालेका छौं, अब ऐतिहासिक तथा सांस्कृतिक क्यान्जिङ गुम्बा मर्मत गर्न आवश्यक छ। पर्यटकीय क्षेत्रका रूपमा परिचित लाङटाङमा घरहरू धमाधम निर्माण भएको र केही घर निर्माणको क्रममा रहेको छ। बाटोघाटो मर्मत गरे पदयात्राका लागि आउने विदेशी पर्यटक आउने वातावरण तयार भएको स्थानीयले बताएका छन्।

लाङटाङबासीले क्यान्जिङमा घर बनाएर पर्यटकीय होटल तथा लज खोलिसकेका छन्। भूकम्पपछि क्रमिक रूपमा विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम बढेको छ। लाङटाङ मार्ग सुरक्षित देखिएपछि स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम बढेको स्थानीय फिन्जो तामाङले बताउनुभयो। जोखिममा रहेको बस्तीमा तत्काल अनुदान सम्झौता नगर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पत्र पठाएपछि अनुदान सम्झौता रोकिएको जिल्ला विकास समिति रसुवाका कार्यक्रम अधिकृत लीलानाथ नेपालले जानकारी दिनुभयो।

पत्र आउनुपूर्व नै लाङटाङमा रहेका १ सय १६ घरधुरीमध्ये ६५ घरधुरीसँग सम्झौता भइसकेको र प्राधिकरणबाट पत्र आएपछि अनुदान सम्झौता रोकिएको हो। अनुदान सम्झौता भइसकेका ६५ घरधुरीलाई समेत रकम निकासा भएको छैन। जोखिममा रहेका बस्तीमा तत्काल अनुदान सम्झौता नगर्न र गरेको भए रकम निकासा नगर्न भनेपछि रकम निकासा हुन सकेन –नेपालले भन्नुभयो। प्राधिकरणको प्रारम्भिक प्रतिवेदन नआउँदा प्रभावितले जसोतसो घर बनाएका छन्। जिल्लामा रहेका १८ गाविसमध्ये १६ ओटा गाविसको जोखिममा रहेका विभिन्न वडाका ८ सय १९ प्रभावितसँग अनुदान सम्झौता हुन नसके पनि घर भने धमाधम बन्न थालेका छन्। समारटियन्स पर्स र ओएम नेपाल नामक गैरसरकारी संस्थाले १० ओटा घर निर्माण गर्न शुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्