थिएटर मलमा ब्युँतियो भोको घर



राजधानीको सुनधारास्थित नाटकघर थिएटर मलमा नयाँ नाटकको मञ्चन शुरू भएको छ। ख्यातिप्राप्त नाटककार गोविन्दबहादुर मल्ल गोठाले को नाटक भोको घरको पुस मसान्तदेखि मञ्चन शुरू भएको हो। नाटकलाई थिएटर मलका कला निर्देशक तथा युवा रंगकर्मी केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका छन्।
नाटकमा एकै परिधिमा रुमलिरहने वा रुमलिरहन बाध्य हुने मध्यमवर्गीय सोच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्यालाई दृश्यमा उतारिएको छ। मध्यम वर्गको आवश्यकता, सपना, महत्त्वकांक्षाका साथै समस्या र दुर्घटनाको अवस्थालाई नाटकले मूल विषय बनाएको छ।

गोठालेले तीसको दशकमा लेखेका नाटक भोको घर अहिले पनि उत्तिकै सान्दर्भिक भएको निर्देशक श्रेष्ठ बताउँछन्। समयान्तरसँगै मानिसका सपनाका तह बढे पनि स्वरूप उही रहँदा यो नाटक हरेक समयको प्रतिनिधि भएको छ, उनले भने– ८ वर्षअघि यो नाटकमा आफैंले अभिनय गरेको थिएँ। अहिले प्रस्तुतिलाई कला र प्रविधिको माध्यमले समसामयिक बनाएर आफैंले निर्देशन गरेको छु।

नाटक मञ्चन शुरू भएको दोस्रो दिनदेखि नै थिएटर मलमा दर्शकको आगमन बाक्लिन थालेको नाटकघरकी प्रबन्ध निर्देशक इलिना नकर्मीको दाबी छ। नाटक हेरेपछि लेखक, साहित्यकार, कलाकारलगायतले नाटक कलात्मक र समसामयिक भएको प्रतिक्रिया दिएको उनले बताइन्।
नाटकमा साठीको दशकको मध्यतिरबाट रंगकर्ममा उत्रेका कलाकारहरूले अभिनय गरेका छन्। कहिले सिनेमा कहिले नाटक गर्दै आएका आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी र अभय बरालले फेरि रंगमञ्चमा मन मिलाएका छन्। घनश्याम श्रेष्ठको सुन्दर मञ्च तथा प्रकाश परिकल्पनाले नाटकलाई अझै कलात्मक बनाएको छ। आगामी पुस २३ गतेसम्म बुधबारबाहेक हरेक साँझ नाटक भोको घर चल्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्