गोवाको आर्ट फेिस्टबलमा नेपालको कला



भारतको गोवामा शुरू भएको सेरिन्डिपिटी आर्ट फेस्टिबलमा ३ नेपाली कलाकार सहभागी भएका छन्। यी ३ कलाकार नेपालबाट सबकन्टिनेन्टल आर्टमा छनोट भई फेस्टिबलमा सहभागी भएका हुन्।

फेस्टिबलमा नेपाली कलाकार कविराज लामा, किशोर कायस्थ र मेखबहादुर लिम्बु सहभागी भएका हुन्। राजनीति, संस्कृति तथा आर्थिक विषयमा तयार पारिएका कलाकृति सो प्रदर्शनीमा राखिएको सहभागी कलाकार कविराज लामाले बताए। लामाले २०४६ सालपछि नेपालका प्रधानमन्त्री भएका नेताहरूको मुहारचित्र र ती नेताका आवाजलाई सेन्सर प्रविधिमार्फत् जोडेर कला प्रस्तुत गरेका छन्। लामाले दिक्क लाग्ने आवाज शीर्षकमा नेताका भाषणलाई डिजिटल प्रविधिमार्फत् अभिव्यक्त गरेका छन्।

आगामी डिसेम्बर २२ सम्म गोवामा जारी रहने फेस्टिबल नेपाली कलाका लागि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण हुने लामाले बताए। फेस्टिबलमा किशोर कायस्थले काठमाडौं उपत्यकाको संस्कृति तथा पुरातात्त्विक सम्पदालाई डिजिटल माध्यमद्वारा प्रस्तुत गरेका छन्। उनले भूकम्पअघिको काठमाडौं उपत्यकाका र त्यसपछिको उपत्यकाको अवस्थालाई तुलना गर्दै २० मिनेटका कलात्मक वृत्तचित्र बनाएका छन्। उनले उच्चस्तरको संगीत र आवाजलाई निकै कलात्मक रूपमा प्रस्तुत गरेका छन्। नेपाली संस्कृतिलाई सौन्दर्य भर्ने कोसिस मात्रै गरेको हुँु –कायस्थको भनाइ छ।
त्यसै गरी कलाकार मेखबहादुर लिम्बुले नेपालको विद्यमान आर्थिक अवस्था र त्यसबाट समाजमा परेको यथार्थतालाई कलात्मक रूपमा पस्केका छन्। बाबु र छोराको अवस्थालाई उनले आर्थिक र सामाजिक रूपमा जोडेर कलाकृति तयार पारेका छन्। प्रदर्शनीमा नेपाली कलाकारलाई सहभागिताका लागि सिद्धार्थ आर्ट ग्यालरीले संयोजन गरेको हो। नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजान ग्यालरीले विगत ३० वर्षदेखि काम गरिरहेको ग्यालरीकी निर्देशक संगीता थापाले बताइन्।

प्रतिक्रिया दिनुहोस्