बार्सिलोनाद्वारा इस्पानियोल पराजित



लन्डन, (एजेन्सी) स्पेनिस लिग फुटबलअन्तर्गत भएको खेलमा बार्सिलोनाले इस्पानियोललाई पराजित गरेको छ।आइतबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले इस्पानियोललाई ४–१ गोल अन्तरले हराएको हो। खेलमा बार्सिलोनालाई विजयी गराउन लुइस स्वारेजले दुई गोल गरे भने योर्डी अल्बा र लियोनल मेसीले एक–एक गोल गरे। बार्सिलोनाले खेलको १८औं मिनेटमा नै स्वारेजको गोलबाट अग्रता लिएको थियो।

यस्तै ६७औं मिनेटमा स्वारेजले नै गोल गरे भने एक मिनेटपछि नै अल्बाले अर्को गोल थपे। दुवै गोलका लागि मेसीले पास दिएका थिए। उनले इस्पानियोलका चार डिफेन्डरलाई छल्दै उत्कृष्ट पास दिएका हुन्। पाहुना टोली इस्पानियोलका लागि लोपेज सिल्भाले ७९औं मिनेटमा गोल गरे। तर ९०औं मिनेटमा लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई ४–१ ले जित दिलाए।

ला लिगाअन्तर्गतकै अन्य खेलहरूमा डेपोर्टीभो ला कोरुनाले ओसासुनालाई २–० ले हराउँदा लेगानेज र आइबारले १–१ गोलको बराबरी खेलेका छन्। आइतबार रातिका खेलहरूपछि ला लिगाको अंक तालिकामा बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको १६ खेलबाट ३४ अंक भएको छ। समान खेलबाट ३३ अंक जोडेको सेभिया तेस्रो स्थानमा झरेको छ। एक खेल कम खेलेको रियल मेड्रिड भने ३७ अंकको साथ शीर्ष स्थानमा यथावत छ।

प्रतिक्रिया दिनुहोस्