शिवराम र सञ्जयको अग्रता



नेपाल समाचारपत्र
काठमाडौं
शिवराम श्रेष्ठ र सञ्जय लामाले सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिनमा संयुक्तरुपमा अग्रता लिएका छन्। सोमबार धरानको निर्वाणा कन्ट्री क्लबमा भएको पहिलो चरणको १८ होलको खेल समाप्तिसम्म शिवराम र सञ्जयले समान ३ अन्डर ६७ स्कोर गरेका हुन्। शिवरामले पहिलो नौ होलमा २ अन्डर ३३ स्कोर जोड्दा तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी खेले। अन्तिम ९ होलमा भने उनले १ अन्डर ३४ स्कोर गरे। जबकि सञ्जयले पहिलो नौ होलमा ३५ इभन पार खेलेका थिए। उनले अन्तिम ९ होलमा तीन अन्डर ३२ स्कोर गरेर शिवरामसँग बराबरी गरेका थिए।

त्यस्तै धनबहादुर थापाले पार ७० खेलेर तेस्रो स्थानमा र≈यो। यसै गरी स्थानीय एमेच्योर शिवकुमार माझीले २ ओभर ७२ स्कोर गर्दा डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीसँग चौथो स्थान साझेदारी गरेका छन्। नगरकोटीले पनि माझीकै स्कोर बनाए। त्यस्तै स्थानीय प्रो सविन सापकोटा, रवि खड्का र एमेच्योर गजेन्द्र गुरुङले समान ३ ओभर ७३ स्कोर जोडेका थिए। धरानकै दुई प्रो खेलाडी बलभद्र राई र देवराज पाखरिनले चार ओभर ७४ अंक बनाए। यसै गरी विकास अधिकारी, सूर्यप्रसाद शर्मा र एमेच्योर शुक्रबहादुर राईले ५ ओभर ७५ स्कोर बनाएका थिए।

प्रतियोगितामा ३१ प्रो र २५ एमेच्योर गरी ५६ गल्फरले सहभागिता जनाएका छन्। कुल ६ लाख पुरस्कार रुपियाँको प्रतियोगितामा शीर्ष तीन हुने खेलाडीले क्रमशः १ लाख १० हजार, ७० हजार र ५० हजार नगद प्राप्त गर्नेछन्।

पाकिस्तान कीर्तिमान जितबाट वञ्चित
लन्डन, (एजेन्सी) पाकिस्तानले कीर्तिमानी जित हासिल गर्ने सम्भावनालाई विफल पारेर अस्ट्रेलियाले पहिलो टेस्ट ३९ रनले जितेको छ। ब्रिसबेनमा ४ सय ९० रनको कीर्तिमानी लक्ष्य अस्ट्रेलियाले दिएकोमा पाकिस्तान ४ सय ५० रनमा रोकियो। पाकिस्तानले अन्तिम दिन सोमबार बाँकी २ विकेट गुमाएपछि अस्ट्रेलियाले सम्भावित हारलाई टारेको थियो। जितसँगै घरेलु टोलीलले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। अहिलेसम्म टेस्ट क्रिकेटमा वेस्टइन्डिजले अस्ट्रेलियाविरुद्ध एन्टिगा टेस्टमा ४ सय १८ रन बनाएर लक्ष्य भेटाउनु नै कीर्तिमानी लक्ष्य हो।

पाँचौं दिन पाकिस्तानले ३८२⁄८ बाट खेल शुरुआत गरेको थियो। असद सफिक (१००) तथा यासिर शाह (४) ले अन्तिम दिनको खेल अगाडि बढाएका थिए। जितका लागि पाकिस्तानलाई १ सय ८ रन आवश्यक थियो भने अस्ट्रेलियालाई २ विकेट। तर पाकिस्तान ४ सय ५० रनमै अलआउट हुन पुग्यो। म्यान अफ दि म्याच असद शफिक १ सय ३७ रन बनाएर आउट भए। उनलाई मिचेल स्टार्कले डेभिड वार्नरबाट क्याच आउट गराए। यासिर शाह ३३ रन बनाएर रनआउट भए।
शफिकलाई मोहम्मद आमिर (४८) तथा वाहव रियाज (३०) ले राम्रो साथ दिए। तर उनीहरू चौथो दिन नै आउट भएपछि पाकिस्तानका लागि कीर्तिमानी लक्ष्यमा पुग्ने आशा क्षीण भएको थियो। तापनि पाँचौं दिन ६८ रन जोडे पनि पाकिस्तानलाई त्यो पर्याप्त भएन। यसअघि अजहर अलीले ७१ तथा युनिस खानले ६५ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्