नायर ३ सय क्लबमा



लन्डन, (एजेन्सी)
चेन्नई टेस्टमा तेहेरो शतक प्रहार गरेपछि भारतीय ब्याटसम्यान करुण नायर टेस्ट क्रिकेटको ३ सय क्लबमा भित्रिएका छन्। इंग्ल्यान्डविरुद्ध पाँचौं टेस्टमा नायरले ३ सय ३ रन बनाएका हुन्।

उनको तेहरो शतकसँगै भारतले ७ विकेटको क्षतिमा ७ सय ५९ रनमा पहिलो इनिङ समाप्तको घोषणासमेत गर्यो। यो इंग्ल्यान्डविरुद्ध विशाल स्कोर बनाउने भारत पहिलो टोली बनेको छ। भारतको यसअघिको कुनै टिमविरुद्धको उच्चतम स्कोर ७ सय ४६ रन थियो।

भारत यात्रामा पहिलो जितको खोजीमा रहेको इंग्ल्यान्डका लागि नायरको शतकले जित असम्भव भएको छ। दोस्रो इनिङमा विनाविकेट क्षति १२ रन जोडेको भ्रमणकारी टोली भारतको पहिलो इनिङभन्दा अझै २ सय ७० रनले पछाडि छ। यसअघिका तीन टेस्ट जितेर भारतले ३–० को अग्रतासँगै पाँच टेस्टको सिरिज जितिसकेको छ।

त्यस्तै नायर टेस्ट क्रिकेटमा तीन सय रन जोड्ने दोस्रो भारतीय ब्याटसम्यान बनेका छन्। उनीभन्दा पहिला तेहेरो शतक भारतीय ओपनर वीरेन्द्र सेहवागले बनाएका छन्। मेडन टेस्ट शतक बनाएका नायरले तीनपटक खेलमा जीवनदान पाएका थिए। २५ वर्षीय दायाँँ हाते ब्याटसम्यान व्यक्तिगत ३४ रनमा हुँदा इंग्लिस कप्तान एलेस्टेर कूकले स्लिपमा क्याच ड्रप गरे।

त्यस्तै जोए रुटले २ सय १७ रनमा हुँदा क्याच ड्रप गरेका थिए। दुवैपटक बलर जेक बल थिए। त्यस्तै मोइन अलीको बलमा जोनी बेयरस्टोले उनलाई २ सय ४६ रनमा हुँदा जीवनदान दिएका थिए।

नायरले तीन सय रन बनाएपछि वीरेन्द्र सेहवागले ट्वीटरमा यस्तो लेखेर बधाई दिए– तीन सय क्लबमा तिमीलाई स्वागत छ। म १२ वर्ष ८ महिनादेखि यहाँ एक्लोपन महसुस गरिरहेको थिएँ। अल द बेस्ट, मजा आयो।

प्रतिक्रिया दिनुहोस्