नेपाली भारु सटहीमा दिनहँु ठगिँदै



वीरगन्ज, (नेस)

भारतले पाँच सय हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा देखिएको छ। भारत सरकारले नोटबन्दी गरेपछि नेपालको आयात निर्यात कारोबारमा असर परेको हो।

भारतमा रुपियाँको आपूर्ति घटेपछि स्वदेशी बजारमा भारुको अभाव भएको छ। नेपालको अधिकांश व्यापार भारतमा केन्द्रित भएकाले भारु अभावको असर स्थानीय व्यापार व्यवसायमा देखिएको हो। भारु सटहीमा यसको अधिक असर देखिएको छ। नेपाली रुपियाँबाट भारु सटही गर्दा बट्टाको भाउ १५ प्रतिशतले बढेको छ। भारतीय रुपियाँको सटही दर सयको नेपाली एक सय ६० रुपियाँ १५ पैसा भए पनि अहिले बजारमा एकसय भारु लिन १ सय ७५ नेपाली रुपियाँ तिर्नु परेको व्यवसायीहरूले बताएका छन्। यसअघि यो दर बढीमा १ सय ६८ रुपियाँसम्म थियो।

बट्टादर बढेसँगै वीरगन्जको बजारमा पनि प्रतिकूल असर परेको व्यापारीहरूले बताएका छन्। दैनिक उपभोग्य सामग्रीदेखि विद्युतीय उपकरण, लत्ताकपडा वास्तविक मूल्यभन्दा १५ प्रतिशत बढी मूल्यमा किनमेल भइरहेको वीरगन्ज माईस्थानका कपडा व्यापारी रमेश अग्रवालले बताउनुभयो। भारतबाट खरिद गरी ल्याइएको चिनी, चामल, दाल, रेडिमेड तथा उनी कपडा, हर्लिक्स, च्यावनप्राश, तेल, मसला, चकलेटलगायत सामग्रीमा मूल्य बढाइएको यहाँका व्यवसायीहरूले बताएका छन्। व्यापारीहरूका अनुसार नेपाली रुपियाँबाट धेरै बट्टा दिएर सामान खरिद गरी ल्याउँदै दैनिक उपभोग्य सामग्रीमा मूल्य थपिन गएको बताएका छन्।

त्यसैगरी नेपाली ग्राहक तथा व्यापारीहरू रक्सौलमा किनमेल गर्न जाँदा ठगिएको बताउँछन्। नेपाली ग्राहकहरूको लागि राष्ट्र बैंकले भारु प्रतिव्यक्ति २ हजार ५ सय दिए पनि सटहीमा वीरगन्जका मनीचेन्जरहरूले पनि कालोबजारी गरिरहेको पाइएको छ। मनीचेन्जरहरूले नोटबन्दीभन्दा पहिले सयकडा ४ रुपियाँ बट्टा लिएर कारोबार गर्थे भने अहिले सयकडा १५ रुपियाँ बढी बट्टा लिएर कारोबार गरिरहेको वीरगन्ज सुनचाँदी व्यवसायी संघका अध्यक्ष मुना सर्राफले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्