बेचबिखनविरुद्ध अन्तरदेशीय कार्यशाला



बाँके–मानव बेचबिखनविरुद्धमा आइतबारदेखि नेपालगञ्जमा अन्तरदेशीय कार्यशाला शुरु भएको छ ।

मानव बेचबिखनविरुद्धको जिल्ला समितिको निर्णय र माइती नेपाल, नेपालगञ्जको अगुवाईमा नेपाल र भारतका सरकारी तथा गैरसरकारी अधिकारीहरु कार्यशालामा सहभागी रहेका छन् । दुई दिने कार्यशालाको उद्घाटन गर्दै जिल्ला न्यायाधीश विष्णुप्रसाद कोइरालाले बेचबिखन विश्वव्यापी भइसकेकाले त्यसलाई रोक्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक प्रलोभनमा पारेर बेचबिखनमा पार्ने काम भइरहेको दोहो¥याउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले व्यक्तिको महत्वकांक्षलाई समातेर दलालले बेचबिखन गराइरहेको बताउनुभयो । विगतमा गाउँघरका गरीव र अशिक्षित मात्रै बेचबिखनमा परेको पाइएकोमा पछिल्ला दिनमा शहर बजारका पढेलेकाहरु त्यस्तो चंगुलमा परेको प्रजिअ पन्थको भनाई थियो । मानव बेचबिखनविरुद्धको जिल्ला समितिका संयोजक प्रजिअ पन्थले एक वर्षमा भारतबाट २४ जना महिलाको उद्धार गरिएको बताउनुभयो । ‘हामीले भारतबाट २४ जनाको उद्धार गरेका छौं भने नेपालबाट दुई जनालाई उद्धार गरेर पठाएका छौं, प्रजिअ पन्थले भन्नुभयो, समन्वयलाई अझ प्रभावकारी बनाउन सकेमा दुवैले लाभ लिन सकिन्छ ।’

माइती नेपालका सविन गुरुङले जोखिममा रहेका बालबालिका र महिलाको उद्धार गर्न, सूचना आदानप्रदान गर्न र प्रभावकारी उद्धारको संयन्त्र बनाउनका लागि अन्तरदेशीय कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

भारतको बहराइचमा बाल हेल्पलाइन सञ्चालन गरेका डा. जितेन्द्र चतुर्वेदी, अन्तरदेशीय बेचबिखनविरुद्धको भारततर्फका संयोजक तेजसिंह भण्डारीले बेचबिखनको विरुद्धको जालो तोड्न, अहिलेसम्म भएका कामको समीक्षा र भावी रणनीति बनाउन आवश्यक रहेको बताउनुभयो ।

बाँकेका एसपी टेकप्रसाद राई, भारतका प्रहरी अधिकृत मेवालाल सुमन, राजेशकुमार सिंहले नाकामा मिलेर काम गर्दा बेच बिखनलगायत सीमा अपराधमा कमी आउने धारणा राख्नुभयो । दुइदिने कार्यशालाले सूचना आदानप्रदान र उद्धार संयन्त्र निर्माण गर्नेछ ।

नेपालबाट वर्षेनी १० देखि १२ हजार महिला तथा बालबालिका भारतमा बेचबिखनमा पर्ने गर्दछन् । जिल्ला समितिको सहकार्यमा यहाँका संघ संस्थाले भारतका समकक्षीसँग मिलेर बेश्यालयमै पुगेर नेपाली चेलीको उद्धार गर्ने गर्दछन् । पछिल्लो समयमा बैदेशिक रोजगारीका नाममा जोखिमपूर्ण यात्रा गर्नेको संख्या बढी रहेको छ । यसरी जानेहरु घरपरिवारको सम्पर्कमा नआउनेको संख्या पनि अधिक रहेको छ । माइती नेपाल, नेपालगञ्जमा मात्रै वार्षिक पाँचसय हाराहारीमा खोजतलासका लागि निवेदन आउने संयोजक केशव कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्