शहीदको मात्रै होइन, शहीद गेटको पनि अपमान



ईश्वरराज ढकाल, काठमाडौं, दलहरूले शहीदको अपमान गरे भन्ने कुरा त बारम्बार उठ्ने गरेकै हो । तर, अब शहीद गेटको पनि अपमान हुन थालेको कुरा चर्को रुपमा उठ्न थालेको छ ।

राजधानीको सुन्धारास्थित नेपाल स्मारक (शहीदगेट) को शीरमा राजा त्रिभुवनको सालिक राखिएको छ । राजतन्त्र हटिसक्यो । गणतान्त्रिक मुलुकमा शहीद भन्दा माथि राजा हुनुहुन्न । शहीद गेटमा तल शहीदका शालिक र माथि शीरमा राजाको शालिक राख्नु उचित होइन । शहीद भन्दामाथि राजाको शालिक राखिरहन हुन्न भन्ने कारण देखाउँदै शहीद गेटको अपहेलित हुन थालेको छ । बेवारिशे हुन थालेको छ । वास्ता हुन छाडेको छ ।

जे भएपनि शहीदगेटले शहरको शोभा बढाएको छ । इतिहास बोकेको शहीदको नामको भएपनि एउटा सिंगो सम्पदा बाँकी छ । यसको अपमान गर्नु कतिको जायज हो त ? इतिहासविद् प्राध्यापक डा. त्रिरत्न मानन्धरले भन्नुभयो,‘शहीद गेटको अपमान हुनु मुलुककै अपमान हुनु हो । शहीदहरुको अपमान हुनु हो ।’

प्रजा परिषद्का सदस्य गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथचन्द र नागरिक अधिकार समितिका सदस्य शुक्रराज शास्त्रीलाई राणा शासकको बिरोध गरेको आरोपमा तत्कालीन जहानीया राणा शासकले वि.सं १९९७ मा मारेका थिए । फासी दिएका थिए । क्रूर निर्मम तकिाले मारेका थिए । झुण्ड्याएका थिए । तिनै ४ शहीदहरूका सम्झनामा २०१८ सालमा राजा महेन्द्रले नेपालद्वार बनाउन लगाएका थिए । महेन्द्रले बनाउन लगाएको यो संरचनालाई नै नेपाल स्मारक पनि भनिन्थो । तर, कसरी शहीदगेट नाम रहन गयो । त्यो भने इतिहासमा उल्लेख गरिएको छैन–इतिहासविद् प्राडा मानन्धरले भन्नुभयो ।

राजा महेन्द्रले सवा २ लाख रुपैयाँको नीजि खर्चमा शहीदगेट बनाउँन लगाएका रहेछन् । राजा त्रिभुवनको सम्झनास्वरुप बनाउन लागाइएको हो यो नेपाल स्मारक । राजाले त्यो स्मारक बनाउने खर्च कसैलाई पनि तिराउन लगाएनन् । नत राष्ट्रको ढुकुटीबाट खर्च गरिएको हो । अहिले त्यस्तो स्मारक बनाउन लागाउने हो भने राज्को ढुकुटी बेगर कसले नीजि सम्पति खर्च गर्छ । कसैले गर्ने वाला छैन ? इतिहासको स्मरण गराउँदै प्राडा मानन्धर भन्नुहुन्छ ।

मानन्धरका अनुसार अरूणशम्सेरको अध्यक्षतामा गठित तीन सदस्यीय समितिले स्मारक बनाएको थियो । शंकरनाथ रिमाल र सूर्यलाल जोशी समितिका सदस्य थिए । उनीहरु नै स्मारकको डिजाइनर पनि थिए । राजा महेन्द्रले आफ्नै निगरानीमा नेपाल स्मारक बनाउन लगाएका थिए । उनी आफैले वि.सं. २०१८ साल बैशाख १ गते उद्घाटन पनि गरेका थिए । महेन्द्र आफंैले माथिल्लो भागमा बाबु त्रिभुवनको र तल चार शहीदका सालिक राख्न लगाएका थिए । इतिहासविद् मानन्धरका अनुसार नेपालमा प्रजातन्त्र ल्याउन त्रिभुवनको मुख्य भूमिका रहेकोले उनको शालिक राखेको हुनुपर्छ ।

तत्कालीन राजा महेन्द्रले नेपाल स्मारकको उद्घाटन गर्दा लिखित भाषण आफैले पढेको स्मरण गर्दै इतिहासविद् मानन्धरले भन्नुभयो, ‘नयाँ वर्षको दिन जनतालाई नयाँ स्मारक देखाउन उद्घाटन गरिएको थियो । बीर आत्माको सम्झना गर्दै उद्घाटन गरिएको थियो । सो भाषणमा पनि राजा महेन्द्रले शहिदगेट भनी उल्लेख गरेनन् । बरु आफ्नो बाबुले प्रजातन्त्र ल्याउन खेलेको महत्वपूर्ण भूमिकाका बारेमा उल्लेख गरिएको गरेका थिए । राजा त्रिभुवनले प्रमुख भूमिका नखेलेको भए नेपालमा प्रजातन्त्र नै आउने थिएन भन्ने व्यहोरा आफ्नो भाषणमा लेखेका थिए । इतिहासविद् मानन्धरले स्मरण गर्नुभयो ।

नेपालद्वार भनौ वा नेपालस्मारक अहिलेको शहीद गेटको उद्घाटन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य र गृहमन्त्री डा. तुलसी गिरीको पनि उपस्थिति रहेको थियो । वि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीस्थित खरीको रूखमा, ११ गते धर्म भक्तलाई सिफलस्थित एक रूखमा झुन्ड्याइएको थियो । दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा माघ १५ गते निर्ममतापूर्वक गोली ठोकेर मारिएको थियो । सोही सम्झनामा शहीदगेट निर्माण भएको हो ।

२०६२–०६३ सालको आन्दोलनबाट राजतन्त्र ढलेपछि राजाको नाम जोडिएको शहीदगेट बेवारिसे अवस्थामा पुगेको हो । शहीद गेट एउटा सम्पदा पनि हो भन्ने सोच भने रहेन । जे अवस्थामा रहेको छ । त्यसको संरक्षण गर्नु पर्छ भन्ने सोच । बनेन ।

तत्कालीन प्रधानमन्त्री डा.वावुराम भट्टराई सरकारको मन्त्री परिषद्ले शहीद गेटबाट राजा त्रिभुवनको सालिक हटाउने निर्णय गरेको थियो । त्यस विषयले ठूलो चर्चा पाएको थियो । सर्वोच्चमा मुद्दा प¥यो र आदेश पनि भयो,‘हटाउनु पर्ने कुनै कारण छैन ।’ सर्वोच्चको निर्णयपछि राजाको सालिक हटाउने विषयको बहस बन्द भयो । अहिले वेवारिसे जस्तै भएको शहीद गेटको अस्तित्व जोगाउन सबैले दवाव दिनुपर्ने अवस्था आएको छ ।

पहिले पहिले विदेशी पाउना, कुटनीति नियोगका प्रतिनीधिहरु नेपाल अएका बेला शहीदगेट पु¥याउने चलन थियो । नेपालीमा पनि नयाँ मन्त्री परिषद् गठन हुँदा शहीदलाई सम्झना गर्न शहीदगेट जाने परम्परा थियो । अहिले त्यो परम्परा हटेको छ । अहिले नयाँ मन्त्रीमन्डल गठन हुनासाथ लैनचौरस्थित शहीद स्मारक जाने चलन शुरु भएको छ ।

शहीद गेटमा रहेको मुख्य शिलालेख चोरी भएको छ । २०६५ सालतिर चोरी भएको शिलालखेमा राजा त्रिभुवनको ऐतिहासिक फोटो रहेको थियो । लोकतन्त्र लगत्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदभार ग्रहण गर्नासाथ शहीद गेटमा पुगेर सम्मान व्यक्त गर्नुभएको थियो । त्यसपछि अन्य प्रधानमन्त्री शहीदगेट जान छाडेका छन् ।

शहीदगेट ऐतिहासिक स्तम्भ हो । ऐतिहासिक सम्पदा हो । यसलाई कसैले पनि बिगार्न हुँदैन । बचाएर राख्नुपर्छ । इतिहासविद् मानन्धरको जीकिर रहेको छ । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि पनि मन्त्रिपरिषद् गठन हुँदा होस् वा अन्य कार्यक्रम हुँदा शहीदको सम्मान गर्न शहीदगेट जाने गरेको दृष्टान्त सुनाउँदै उहाँले भन्नुभयो,‘२०६२÷०६३ सालमा लोकतन्त्र आएपछि शहीदगेट जाने परम्परा तोडियो, बन्द भयो । यो दुखद् पक्ष हो ।’

प्रतिक्रिया दिनुहोस्