बन्दका कारण एघार जिल्लाको जनजीवन अस्तव्यस्त



बुटवल, सरकारले ल्याएको संविधान संसोधन विधेयकको विरोधमा आह्वान गरिएको ३ दिने हड्तालको दोश्रो दिन शनिबार पनि पश्चिम नेपालका ११ जिल्लाको यातायात, कलकारखाना, र बजार बन्द छ ।

३ दिने हडतालका कारण हिजोदेखि रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, रुकुम, बाँकेमा यातायात र बजार सञ्चालनमा आउन सकेका छैनन् ।

संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण एघार जिल्लाको शुक्रबारदेखि नै जनजीवन अस्तव्यस्त वनेको थियो । त्यसै गरी आज पनि पाँच नम्बर प्रदेशमा पर्ने ११ जिल्लाहरु मध्ये गुल्मी, अर्घाखाँची, पाल्पा रोल्पा र बुटवलको सवारी साधन चलेको छैनन् भने संयुक्त संघर्ष समितिको आन्दोलनमा सडकमा प्रदर्शन भइरहको छ ।
पूर्वपश्चिम राजमार्गको चितवन र बाँकेमा शुक्रबार बिहानदेखि रोकिएका गाडी गएराती १० बजेपछि प्रहरीको स्कर्टिङमा गन्तव्यतर्फ लागेका छन् । बन्दकर्ताले रातीमा गाडी चल्न नदिने बताएपनि १० बजेपछि प्रहरीले बन्द भएको क्षेत्रमा स्कर्टिङ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उता बाँकेमा भने बन्दका कारण रोकिरहेका यात्रु र सवारीसाधनलाई पास गराउन सुक्रवार साँझ ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्म पन्ध्र घन्टाका लागि खुला गरिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

आज बिहानैदेखि कोहलपुरमा रोकिइरहेका सवारीसाधन पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने गन्तव्यतर्फ लागेको मध्य पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ ।

सरकारले संविधान संशोधन विधेयक फिर्ता नलिएको साङ्केतिक विरोध गर्न बन्द आह्वान गरिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

सुक्रवारको बन्दका क्रममा सडक विभागको भे १ ब ५६३ नंको सरकारी साधन मोटर साइकल र एक निजी कारमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रदेश नम्बर पाँचका जिल्लाहरुमा पाँच नम्बर टुक्र्याउने गरी सरकारले ल्याएको विधेयकको विरोधमा १८ दिनदेखि आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्