रजिष्ट्रार थापालाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी



नेपाल समाचारपत्र
काठमाडौं

निर्धारित समयमा उपकुलपतिको छनोट गर्न नसकेपछि काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार भोला थापालाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ। मंसिर १३ गते नयाँ उपकुलपतिको नाम सिफारिस गर्न गठित सर्च कमिटीले उपकुलपति छनोट गर्न नसक्दा पाँच दिनदेखि केयू नेतृत्वविहीन भएको थियो।
कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ रजिष्ट्रार थापालाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिनुभएको हो। विश्वविद्यालयका प्रेस सल्लाहकार हरि मञ्जुश्रीले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार प्रधानमन्त्रीले रजिष्ट्रार थापालाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएको पत्र विश्वविद्यालयको ग्वार्कोस्थित कार्यालयमा साँझ चारबजे प्राप्त भएको हो।

निवर्तमान कुलपति डा. रामकण्ठ माकाजुको चारवर्षे कार्यकाल मंसिर २६ गते सकिने हुँदा योभन्दा दुई साताअघि नै उपकुलपतिको नाम सिफारिस गर्न सर्च कमिटी गठन भएको थियो। सर्च कमिटीमा उपकुलपति बनाउनेबारे विवाद भएपछि केही दिनदेखि सर्च कमिटीको बैठक नै बस्न सकेको थिएन।

मंसिर १३ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको काठमाडौं विश्वविद्यालय सभाको ७५औं बैठकले मंसिर २६ गते नियुक्ति हुने उपकुलपतिको नाम सिफारिस गर्नका शिक्षामन्त्री धनिराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरिएको थियो। विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना र संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा सदस्य छन्।

प्रधानमन्त्री कुलपति तथा शिक्षा मन्त्री सहकुलपति रहने प्रावधान रहेको विश्वविद्यालयमा उपकुलपति कार्यकारी पद हो। उपकुलपति छनोटको सन्दर्भमा प्रधानमन्त्री र शिक्षा मन्त्री प्रा. जनार्दन लामिछानेको पक्षमा र सदस्यद्वय ढुंगाना र शर्मा माकाजुलाई नै निरन्तरता दिनुपर्ने पक्षमा भएको कारण सर्च कमिटीमा विवाद बढेको थियो। सर्च कमिटीमा कुरा नमिलेपछि विकल्पमा पूर्वरजिष्ट्रार प्रा. भद्रमान तुलाधर र वर्तमान रजिष्ट्रार प्रा. भोला थापाको नाम चर्चामा थियो।
थापालाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएपछि रजिष्ट्रारको जिम्मेवारीमा नयाँ ल्याउने कि उहाँले नै गर्ने भन्ने बारेमा विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्