पैसा कमाउन राजनीतिमा आएको होइनः ओली



नेपाल समाचारपत्र
भद्रपुर
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसा कमाउन राजनीतिमा नलागेको भन्दै जनताको सेवाका लागि राजनीतिमा लागेको बताउनुभएको छ।

झापाको तोपगाछी–३ स्थित महेन्द्र रत्न माविको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै आफूलाई पैसा कमाउनु छैन, देशको विकास गर्नु छ, र यसलाई निरन्तरता दिएर जनताको विश्वास जित्नु आफ्नो उद्देश्य रहेको बताउनुभयो।

आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर ल्याएको भन्दै देश यस्तो कंगाल अवस्थामा छ, धेरै पछि धकेलिएको छ। आफूले केही सुधार गरेको तर पूरै सुधार गर्न नसकिएको उहाँको भनाइ थियो। आफूलाई प्रधानमन्त्री हुँदा आफ्नो क्षेत्रमा सबै बजेट छुटइएको भन्ने आरोप लागेको बताउँदै झापामा मात्र नभएर समग्र देशको विकासमा आफू अग्रसर रहेको उल्लेख गर्नुभयो। आफूले कहिल्यै पनि नेपालीको शिर झुकाउने काम नगरेको दाबीसमेत गर्नुभयो।

छुट्टै प्रसंगमा बोल्दै देशको वर्तमान अवस्थालाई हेर्ने हो भने व्यावसायिक र प्राविधिक शिक्षा आजको आवश्यकता रहेको धारणा अघि सार्नुभयो।
यसैबीच सोही अवसरमा तीव्र स्मरणशक्तिका कारण गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल झापा भद्रपुर निवासी अर्पण शर्मा कट्टेललाई पूर्वप्रधानमन्त्री ओलीले गिनिज बुकले पठाएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजनबहादुर ढुंगानाको अध्यक्षता भएको कार्यक्रममा विद्यालयमा विभिन्न क्षेत्रबाट सहयोग पुयाउने विभिन्न दाता, पूर्वविद्यार्थी, शिक्षक, अभिभावक, छात्रछात्रा गरी १ सय १२ जनालाई प्रशसापत्रले सम्मानित भएका थिए।

प्रतिक्रिया दिनुहोस्