रश्मी थापा
सुर्खेतकी सञ्चिता ठकुरी चाहन्थिन् डाक्टर बन्न। डाक्टर बन्ने सपना पूरा नभएपछि उनी काठमाडौंतिर लागिन् हिरोइन बन्न। सुर्खेतबाट काठमाडौं छिरेर मोडलिङमा संघर्ष गरीरहेकी २० वर्षीया सञ्चिता काठमाडौं आएको ५ महिनामा झण्डै १ दर्जन भिडियोमा अभिनय गर्न भ्याइसकेकी छिन्। उनी विस्तारै मोडलिङबाट फिल्म क्षेत्रमा पनि लाग्ने सोचिरहेकी छिन्। सानोमा त डाक्टर बन्छु भन्ने सोच्थेँ, तर ठूलो हुँदै गएपछि सबै सपना पूरा गर्न सकिँदो रहेनछ भन्ने लाग्यो। अलि ठूलो भएपछि हिरोइन बन्ने सपना देखेकी थिएँ। सञ्चिता भन्छिन् यी दुबै क्षेत्र मलाई एकदमै मन पर्ने क्षेत्र हुन्। एउटा सपना पूरा नभए पनि अर्को सपना त जसरी पनि पूरा गरेरै छोड्छु भन्ने सोचेर म काठमाडौं आएकी हूँ। सुर्खेतमा हुँदा स्कुल र कलेजमा हुने कार्यक्रममा भाग लिने गर्थेँ। कक्षा ८ मा पढ्दा पहिलोपटक गोर्खा पल्टन भन्ने गीतमा नाचेको थिएँ। सबैले राम्रो छ भन्ने प्रतिक्रिया दिनुभयो। त्योभन्दाअघि स्टेजमा नटेके पनि घरमा आफैँ डान्स प्राक्टिस गर्थेँ। किनभने मेरो सानैदेखिको चाहना थियो अभिनयमा लाग्ने। त्यसपछि विभिन्न कार्यक्रमहरुमा निरन्तर भाग लिन थालेँ। एक पटक अर्को स्कुलमा भएको प्रतियोगीतामा भाग लिँदा पुरस्कार पनि जितेको थिएँ। स–साना उपलब्धिले नै जीवनमा ठूलो सपना देख्न र साकार पार्न हिम्मत जुटाउँदो रहेछ।

सुर्खेतदेखि कलाकारीतामै आफ्नो भविष्य खोज्न एक्लै काठमाडौं गई संघर्ष गर्छु भनेर घरपरिवारमा कुरा राख्दा शुरूमा त आमाबुवालाई सम्झाउन निकै गाह«ो भयो रे उनलाई। मैले जब काठमाडौं गएर काम गर्छु भनँे बुवाआमाले हुँदैन नजाऊ, नयाँ ठाउँमा आफ्नो मान्छे नहुँदा गाह्रो हुन्छ भन्नेजस्तो आशय दर्शाउनुभयो। मेरो लक्ष्य सुर्खेत बसेर पनि पूरा हुन गाह्रो थियो –उनले सुनाइन्। त्यसकारण म जसरी पनि आफ्नो लक्ष्य पूरा गर्छु भन्नेतिर लागेँ र काठमाडौं आएँ। जति दुःख गर्न परे पनि आफ्नो लक्ष्य पूरा गरेर तपाईंहरुसामू आउँछु भनेर आमाबुवालाई सम्झाएँ।

काठमाडौं आएपछि सञ्चिताले ठूलै संघर्ष गर्नुपर्यो। कुनै पनि क्षेत्रमा आउँदा शुरूका दिनहरु निकै संघर्षशील हुन्छन्। झन कलाकारीतामा आउन चाहनेहरुको सन्दर्भमा अझ बढी मेहनत र संघर्ष गर्नुपर्ने हुन्छ। म पनि अहिले संघर्षरत नै छु। आर्थिक हिसाबले कुरा गर्ने हो भने म अझै आफ्नो खुट्टामा उभिन सक्ने भइसकेकी छैन। घरबाटै सहयोगले चलिरहेकी छु उनले सुनाइन् शुरूआती दिन भएकाले यसो गर्नु परेको हो। केही समयपछि म आर्थिक रूपमा निर्भर हुन्छु भन्ने दृढ विश्वास छ। आफ्नो पाखुरा नचलाई दुःख पाइन्छ र आफ्नो मेहनतबाट नै सफलता पाइन्छ भन्ने कुरा मैले राम्रोसँग बुझेको छु। त्यसैले म आफ्नो लक्ष्य पूरा गर्न लागिपरेको छु। लक्ष्य सँगसँगै आफू बाच्ने आधार पनि बन्दै जानेछ भन्ने कुरामा ढुक्क छु। काठमाडौं आएपछि साथीहरुको पनि सपोर्ट पाएँ। उनी भन्छिन् मलाई खास अरुको दुःख पीडा देखाउने खालका गीतहरुमा अभिनय गर्न मन लाग्छ। तर जस्तो खालको भूमिकामा पनि आफूलाई उतार्न सक्छु।

आफूलाई मिडिया र दर्शकमाझ पहिलोपटक प्रस्तुत गराउने तिम्रो भिक्षा माग्दा माग्दै बोलको आधुनिक गीत भएको दाबी गर्ने उनले त्यसपछि आधुनिकको साथै लोक, लोकदोहोरी तथा पप गीतहरुको म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो कलालाई विभिन्न रूपमा प्रस्तुत गरिसकेकी छिन्। पहिलो गीतमा मोडल सुनिल रावल दाइले सपोर्ट गर्नुभयो। उहाँकै कारण यो क्षेत्रमा इन्ट्रि पाएँ। त्यसपछिका दिनहरुमा आफ्नो तर्फबाट सम्पूर्ण रूपले मेहनत गर्दै गइरहेको छु उनले भनिन्।

सुर्खेतमा हुँदा कुनै पनि नृत्यसम्बन्धी प्रशिक्षण नगरेकी उनी एक महिनादेखि डान्सको कक्षा लिइरहेकी छिन्। हुन त म मैले पहिलोचोटि अभिनय गर्दा कुनै पनि ट्रेनिङ लिएको थिइनँ। तर मैले काम गर्दा सिकाएको अनुरूप गर्न सक्छु भन्ने नै लागेको थियो। पहिलोपटक क्यामेरा फेस गर्दा अलिअलि डर त लागीहाल्छ। नर्भस फिल हुन्छ तर पनि मसँग आत्मविश्वास थियो मैले गर्न सक्छु भन्ने आफूलाई सहज नै फिल गराएँ। अहिले अझ अरु राम्रो गरौं भनेर भर्खरै मात्र डान्स सिक्न थालेको हुँु उनी भन्छिन्।

आफूले गरेको अभिनयमा राम्रो प्रतिक्रिया पाउँदै आएको दाबी गर्ने उनलाई पछि गएर ठूलो पर्दाको सिनेमामा काम गर्ने धोको पनि रहेछ। मेरो लक्ष्य हिरोइन नै बन्छु भन्ने थियो र मोडलिङमा हात हालेकी हुँ। आफूले हात हालेको काम म कुनै पनि हालतमा निरन्तरता दिनुपर्छ भन्ने मलाई लाग्छ। त्यसैले म आर्थिक हिसाबले अन्य क्षेत्रमा लागे भने पनि पहिलो प्राथमिकता अभिनयलाई नै दिनेछु। एउटा कलाकारका लागि दर्शक भनेको भगवान हुन्। यहा मजस्ता हजारौं व्यक्ति अवसरको खोजीमा हिँडेका हुन्छन्। उनीहरुले दर्शकको साथ र सपोर्ट पाए भने मात्र अगाडि बढ्न र राम्रो काम गर्न हौसला मिल्ने हो। म पनि तिनै व्यक्तिहरुमध्येको एक हुँु।–सञ्तिाले भनिन्।

LEAVE A REPLY