माइपोखरीमा बन्दै सडक



टीका बन्धन

जैविक विविधताले सम्पन्न पूर्वी इलामको पर्यटकीय गन्तव्य माइपोखरी आवत–जावत गर्न अब वातावरणमैत्री पक्की सडक निर्माण हुने भएको छ । सो क्षेत्रमा जलवायु प्रकोप व्यवस्थापनसहितको नमूना सडक निर्माण हुने भएको हो ।

एडीबीको करिब २० करोड रुपियाँको हाराहारीको आर्थिक सहयोगमा मेची राजमार्गको बिब्ल्याटे खण्डदेखि माइपोखरीको देउराली बजारसम्मको १२ दशमलव ३ किलोमिटर लामो सडक निर्माण हुने बताइएको छ । माइपोखरी मेची राजमार्गदेखि १२ किलोमिटर उत्तरतर्फ अवस्थित छ । माइपोखरी सडकमा जलवायु प्रकोप व्यवस्थापनसहितको नमूना सडकको निर्माण चरणमा पहिरोको नियन्त्रणका लागि वायो इन्जिनियरिङका अभ्याससहित व्यवस्थित ढल निकास, पानीका स्रोतको व्यवस्थापन, सडक आसपासको क्षेत्रमा वृक्षारोपणजस्ता विधि अनुशरण गरिने एडीबीका एक प्रतिनिधिले बताए ।

‘एडीबीको सहयोगमा यस अघि निर्माण भएका सडकभन्दा सो सडक वातावरणीय दृष्टिकोणबाट पृथक हुनेछ, ती अधिकारीले भने– एक लेनको यो सडकका लागि प्रतिकिलोमिटर १ करोड ७० लाख रुपियाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । सडकको प्रारम्भिक वातावरण परीक्षण (आईई) हालै सम्पन्न भएको छ । छोटो दूरीको मुलुकको यो पहिलो नमूना सडक हुने दाबी गरिएको छ । आगामी २ महिनाभित्र सडकको टेन्डर प्रकृया खुल्ने बताइएको छ ।

पछिल्लो पटक मुलुकका विभिन्न ९ वटा सडकको विस्तृत नक्सांकन तयार पारेको एडीबीले माइपोखरी सडकलाई पहिलो प्राथमिकतामा राखेको तथा पाँचथर, मोरङ र काभ्रेमासमेत छिटै नमूना सडक निर्माण प्रकृया अघि बढाउँदै छ । माइपोखरी सन् २००८ मा विश्व रामसार सूचीमा सूचीकृत क्षेत्रसमेत हो । विश्वमा रहेको कूल २ प्रतिशत पृथक परिस्थितिकीय प्रणालीमध्ये नेपालको माइपोखरीसमेत एक क्षेत्र भएको संरक्षणविद्हरू बताउँछन् । विविध प्रकारका दुर्लभ वनस्पति र पन्छीहरूको राम्रो बासस्थान भएको क्षेत्रका रूपमा सो क्षेत्र परिचित छ । साथै विश्वमै अति संटकापन्न अवस्थामा रहेको तर सोही क्षेत्रमा मात्र पाइएको घस्रने जन्तु सालामान्डर ले संरक्षणकर्मीहरूको ध्यान तानेको सिमसार विज्ञ टोपबहादुर खत्री बताउनुहुन्छ ।

जैविक विवधताले सम्पन्न माइपोखरीको पूर्वाधार विकास गरिदाँ परिस्थितिकीय प्रणालीलाई प्रतिकूल असर नपुग्ने गरी विकासका गतिविधि अघि बढाइनुपर्ने उहाँको तर्क छ । केही वर्षयता जिल्ला वन, भू–संरक्षण र जिल्ला वनस्पति कार्यालयसहित अन्य सरोकारवाला निकायहरूले त्यहाँको जैविक विविधता संरक्षणका लागि संयुक्त पहल अघि बढाइरहेका छन् । तर कच्ची सडक भएकाले मध्ये वर्षात्को समयमा त्यहाँ आन्तरिक र वा≈य पर्यटकलाई ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ । श्रीमद्भागवतको ९औं खण्डमा माइपोखरीको वर्णन गरिएको र पाण्डवहरू आएर बसोबास गरेको प्रसंग जोडिएकाले सो क्षेत्रमा हरेक वर्ष धार्मिक गतिविधिसमेत हुँदै आएको छ ।

माइपोखरीभन्दा माथिल्लो भेगका छिन्टापु, सन्दकपुर आसपासका भेग दुर्लभ रेडपाण्डा बासस्थान क्षेत्रका रूपमा पहिचान भएको छ भने ८२ मिटर अग्लो टोड्के झरनासमेत त्यहीँ आसपासमा छ । पर्या–पर्यटनको उच्च सम्भावना बोकेको माइपोखरी र आसपासका क्षेत्रमा पुग्न चाहने आन्तरिक र बा≈य पर्यटकहरूलाईलक्षित गरेर पदमार्गहरू निर्माण भइरहेका छन् –मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष केशव द्यौरालीले टेलिफोनमार्फत भन्नुभयो। माइपोखरीसम्म पक्की सडक निर्माण भएको अवस्थामा सन्दकपुरबाट फालोट, तिम्बुङ पोखरी हुँदै कञ्चनजंगा आधार शिविर पुग्ने पदमार्ग विकास गर्न सहज हुने उहाँले बताउनुभयो । द्यौरालीका अनुसार मौसम खुलेको समयमा पोखरी र आसपासको क्षेत्रबाट सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजंगा, कुम्भकर्णसहित अन्य हिमश्रृंखला नियाल्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्