कुरुवा नपाउँदा बिचल्लीमा बिरु



दीपेन्द्र शर्मा, जाजरकोट
डामा चोट लागेर बिरामी भई थला परेका भेरीमालिका नगरपालिका–३ सिमलगैरी जाजरकोटका ३० वर्षीय बिरु नेपाली कुरुवा नपाउँदा थला परेका छन्। प्रेसनपछिको घाउ जाँच गराउन जाँदा ६ महिना बस्नुपर्ने भएकाले उनीसँग कुनै पनि जान नमानेपछि उपचार अभावमा थला परेका छन्। आफूसँगै अस्पतालमा जाने कुरुवा नगइदिँदा चार महिनादेखि जिल्ला अस्पताल जाजरकोटमा छटपटाइरहेका छन्। मजदुरी गर्ने क्रममा घुँडामा चोट लागेर ठूलो घाउ बनेपछि असक्त बनेका बिरु अहिले जिल्ला अस्पताल जाजरकोटमा थलिएका हुन्।

गत साउनमा खुट्टाको अप्रेसन गराएका बिरुलाई अस्पतालले ६ महिना अस्पतालमै बस्नुपर्ने भनेपछि उनी कुरुवा लिनका लागि जाजरकोट फर्किए। डाक्टरले कुरुवा लिएर भदौमा अस्पताल आउन भनेका थिए बिरुलाई। तर कोही पनि आफन्त नजाँदा उनी जिल्ला अस्पतालमै दैनिक घाउ सफा गर्ने गरेका छन्। बिरामी हुनु पहिला मजदुरी गरेर आफू र दृष्टिविहीन बूढीआमाको छाक टार्ने गर्थे बिरु। मजदुरी गर्दागर्दै खुट्टामा गम्भीर चोट लागेपछि आफैं थला परेका बिरुले आफ्नी दृष्टिविहीन आमाको मृत्यु भएको खबरले झन पीडा थपियो। घँुडामा भएको ठूलो घाउको पीडा एकातिर थियो भने त्योभन्दा ठूलो पीडा बिरुको जीवनमा आइपर्यो आमाको मृत्यु।

गत साउनमा बिरुको घुँडाको उपचारका लागि अप्रेसन हुने दिन उनकी आमा लल्ती नेपालीको चित्ता खलंगाको कालेगाउँस्थित भेरी नदीको किनारमा जल्दै थियो। पीडैपीडामा रहेका उनी आफन्तबाट सहयोग नपाउँदा झन् बिचल्लीमा परेका छन्। घाउ निको हुनुको साटो झन्झन् बल्झिदै गएकाले घाउको उपचारमा निकै समस्या भएको बिरु नेपालीले बताए। खुट्टामा लागेको चोटले गर्दा घुँडाको हड्डी कुहिन थालेपछि अप्रेसन गरेर निकालें अहिले त्यही घाउको उपचारमा जानका लागि कोही नहँुदा सहाराविहीन भएको छु –बिरुले भने। आफू बिरामी भएर अस्पतालमा छटपटाइरहेको छु कोही छैन सहारा दिने कसरी उपचार गरेर बाँचौं, उनले भने– घाउ सन्चो भएको छैन पिप आउँछ। कुरुवा लिएर जाने पैसासमेत नहुँदा निकै समस्या भएको दुखेसो पोखे। फुर्सद छैन भन्दै कोही पनि आफन्त जान नमानेको र कसैल वास्ता नगरेको उनले बताए।

ढिलो गरे क्यान्सरसमेत हुन सक्ने चिकित्सकको भनाइ छ। आर्थिक अभाव र काठमाडौं लगिदिने आफन्त कोही नहुँदा यति बेला उनी जिल्ला अस्पताल जाजरकोटमा छटपटाइरहेका छन्। बिरु परिवारका एक मात्र सदस्य हुन्। अहिले बिरुसँग काठमाडौंसम्म जान गाडी भाडा तथा कुरुवा छैनन्।
बिरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार सम्भव नहुने भएपछि काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा छिट्टै जान सुझाव दिएको तर बिरुलाई साथमा लिने आफन्त नहुँदा समस्या भएको जिल्ला अस्पतालका डा. चाँदनी जैयसवालले बताइन्। बिरुको घुँडामा समस्या भएकाले हामीले काठमाडौं जान सल्लाह दिएका हौं तर अहिलेसम्म गएका छैनन्। घाउ पाकेर खुट्टा नै कुहिन थालेको छ जति ढिला गर्यो उति खतरा बढ्दै गएको छ –पैसा खोजेर कुरुवासहित उपचारमा जान सल्लाह दिएको डा. जैयसवालले बताइन्।

प्रतिक्रिया दिनुहोस्