सातौं राष्ट्रिय शैक्षिक महोत्सव दाङमा शुरू



नरेन्द्र केसी, घोराही, दाङ
दाङको घोराहीमा बिहीबारदेखि सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव शुरू भएको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ केन्द्रीय समितिको संरक्षण र जिल्ला समितिको आयोजनामा महोत्सव शुरू भएको हो। यसअघि छवटा महोत्सव विभिन्न शहरमा गरिसकेको महासंघले सातौं महोत्सवका लागि घोराही छनोट गरेको हो।

महोत्सवमा ८० स्टल राखिएको छ। जसमा ६० वटा स्टलमा विभिन्न प्रकाशन गृहका पुस्तकहरू राखिएको छ भने २० वटा स्टलमा शैक्षिक परामर्शसम्बन्धी संस्थाका सामग्री राखिएको छ। पुस ६ गतेसम्म चल्ने महोत्सवमा १ करोड बढीका पुस्तक बिक्री हुने आशा राखिएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक घनश्याम बरालले जानकारी दिनुभयो।

महोत्सव उद्घाटनअघि जिल्लाका विभिन्न स्थानबाट आएका हजारौं विद्यार्थीले र्यालीमा सहभागिता जनाएका थिए। सामाजिक रूपान्तरणका लागि नयाँ शैक्षिक अभियान भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गरिएको छ। पठन संस्कृतिको विकास गर्न महोत्सव आयोजना गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिनुभयो।

महोत्सव उद्घाटन गर्दै शिक्षामन्त्री धनिराम पौडेलले नेपालमा पुस्तकनीति नभएकाले अहिले तयार गरिएको बताउनुभयो। अब चाँडै पुस्तक नीति सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो। पुस्तक, पुस्तकालय र पुस्तक अभिलेखालय नीति बनाउन छुट्टाछुट्टै तीन कार्यदलले काम गरिरहेको जानकारी दिँदै उहाँले शैक्षिक सम्मेलनमार्फत् पुस्तक नीति सार्वजनिक गरिने बताउनुभयो।

मन्त्री पौडेलले केही गलत प्रवृत्तिका कारण भाषा विवाद देखिएको उल्लेख गर्दै यसलाई सुधार्ने प्रयास थालेको र धेरै हदसम्म प्रगति भएको पनि बताउनुभयो। कार्यक्रममा भाषाविद् चूडामणि गौतमले भाषा बिगारेकोमा आपत्ति व्यक्त गर्दै यसका विरुद्ध आफूहरू आन्दोलनमा रहेको बताएपछि जवाफमा मन्त्री पौडेलले भन्नुभयो– यो आन्दोलनमा मेरो पनि समर्थन छ, गलत बहसलाई सुधार्ने प्रयास पनि गरिएको छ, केही गलत प्रवृत्तिका कारण यो समस्या आएको हो।
चार व्यक्तित्व सम्मानित
बजारमा रथारोहण
शैक्षिक महोत्सवमा अवसरमा भाषा, साहित्य र शिक्षा क्षेत्रमा योगदान पुर्याउने चार जनालाई सम्मान गरिएको थियो। आख्यानकार डा. ध्रुवचन्द्र गौतम, भाषाविद् चूडामणि गौतम, वरिष्ठ साहित्यकार गिरिराज शर्मा र शिक्षासेवी भीष्मबहादुर केसीलाई सम्मान गरिएको हो। उहाँहरूलाई प्रमुख अतिथि मन्त्री पौडेलले सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो। उहाँहरूलाई घोराही बजारमा रथारोहण गराएर नागरिक अभिनन्दन पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्