न्यानो झोला हट्दा सुत्केरीलाई सास्ती



वीरबहादुर बम, मुगु
सरकारले आमा सुरक्षा कार्यक्रमलाई सघाउन हरेक सुत्केरी महिलालाई दिँदै आएको न्यानो झोला कार्यक्रम यो वर्षबाट कटाइएसँगै जिल्ला स्वास्थ्य कार्यालय मुगुमा सुत्केरी हुने महिलालाई समस्या भएको छ। आर्थिक वर्ष २०७१⁄०७२ देखि मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर कम गराउन सहयोग पुग्ने भन्दै नेपाल सरकार स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाबाट प्रत्येक जिल्लाका सुत्केरीलाई न्यानो झोला दिँदै आएको भए पनि यो वर्षबाट कटाइएसँगै जिल्ला स्वास्थ्य कार्यालयमा सुत्केरी हुने महिलालाई समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका कार्यालय प्रमुख डा. सरोज अधिकारीले बताउनुभयो। न्यानो झोला कार्यक्रमबाट विशेष गरी अति विपन्न परिवारलाई प्रत्यक्ष राहत पुग्दै आएको थियो।

गाउँगाउँबाट डेलिभरीका लागि आएका हुन्छन् एकसरो कपडा मात्रै ल्याउँछन् अझ बच्चाका लागि त केही तयारी गरिएको हुँदैन, यहाँ डेलिभरी भएपछि कपडा किन्न नसक्नेका लागि ज्यादै नै उपयोगी सावित भएको थियो –अधिकारीले भन्नुभयो। उहाँका अनुसार किन कटाइएको हो भनेर बुझ्दा यो कुनै विदेशी दाताको बजेट भएको हुँदा उसले बजेट आफ्नै देशमा खर्च गर्नुपर्ने देखाउँदै फिर्ता लिइएकाले नेपाल बजेट अभावमा सरकारले न्यानो झोला कार्यक्रम कटाएको अधिकारीको भनाइ रहेको छ।

विगतका वर्षमा ९ सय रुपियाँ जतिको प्याकेजमा न्यानो झोलामा सुत्केरी आमाका लागि म्याक्सी कपडाका साथै बच्चाका लागि टोपी, भोटो, दौरा सुरुवाल २ जोरलगायत सामग्री दिइने गरिन्थ्यो तर यो आर्थिक वर्ष २०७३⁄७४ बाट बजेट अभावमा न्यानो झोला कार्यक्रम कटाइएको डा. अधिकारीले भनाइ छ।

प्रतिक्रिया दिनुहोस्