निजामती कर्मचारी संगठनमा देवकोटा



बाँके, (नेस)
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी भएका छन्। नेपालगन्जमा भएको दशौं राष्ट्रिय अधिवेशनमा मोहन घिमिरेलाई पराजित गर्दै देवकोटा अध्यक्ष चुनिएका हुन्। २७ गतेदेखि शुरू भएको अधिवेशनको चुनावी प्रतिस्पर्धामा देवकोटाले ३ सय ७१ मत ल्याएका थिए। घिमिरेले ३ सय ४७ मत ल्याए।

एमालेले गुटको अन्त्य गर्ने भन्दै प्यानलगत चुनावी प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाए पनि कर्मचारी संगठनमा गुटकै लडाइँ भएको थियो। देवकोटालाई पार्टी अध्यक्ष केपी ओली र घिमिरेलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको साथ थियो। गुट चलाउने नेताहरू आफ्नो प्यानललाई जिताउन मरिमेटेर लागेका थिए।
संगठनको वरिष्ठ उपाध्यक्षमा पनि देवकोटा प्यानलकै लेखनाथ कोइराला विजयी भएका छन्। महिला उपाध्यक्षमा भवानी न्यौपाने विजयी हुनुभयो। क्षेत्रगत उपाध्यक्षहरूमा १ नम्बरबाट भुवन राई, २ बाट नौतम पोखरेल, ३ बाट शरणकुमार गुरुङ, ४ बाट घनश्याम सापकोटा, ५ मा दधिराम मरासैनी र यामबहादुर खत्रीको मत बराबर ६ बाट मोहन गिरी र ७ बाट रामचन्द्र जोशी विजयी भएका छन्। त्यस्तै, उपत्यका उपाध्यक्षमा कृष्णराज ढकाल, आदिवासी जनजातिमा ललितबहादुर महर्जन, मधेसीमा भागवत यादव, अपाङ्गता पिछडिएका क्षेत्रबाट जीवनबहादुर भण्डारी, श्रेणीविहीनमा वैकुण्ड गुरागाईं उपाध्यक्ष निर्वाचित भएका छन्।

संगठनको महासचिवमा रेवन्त गौतम विजयी भएका छन्। उपमहासचिवमा चेतनाथ न्यौपाने, राजेन्द्र श्रेष्ठ र रेणुका केसी निर्वाचित भएका छन्। सचिवमा गगनबहादुर विके, रामचन्द्र अधिकारी, शान्तिप्रसाद लुइँटेल, युवाचन्द्र घिमिरे विजयी भएका छन्। महिला सचिवमा भवानी खतिवडा, समावेशी सचिवमा सीता गुरुङ विजयी हुनुभयो। कार्यालय सचिवमा वेदप्रसाद खतिवडा विजयी हुनुभयो। कोषाध्यक्षमा बखतबहादुर खड्का र सहकोषाध्यक्षमा गणेशप्रसाद आचार्य निर्वाचत भएका छन्।

अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा पराजित भए पनि क्षेत्रगत उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायत अधिकांश पदमा घिमिरे पक्ष विजयी भएका छन्। यसैबीच, नवनिर्वाचित अध्यक्ष देवकोटाले पेसागत हकहितका लागि लड्ने बताउनुभएको छ। सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष देवकोटाले निजामती कर्मचारीमा देखिएको विकृति, विसंगति हटाउन जोड दिने बताउनुभयो।

कर्मचारीमा देखिएको सामाजिक सुरक्षा, पेन्सन, उपदान, छात्रवृत्ति सुधारलगायत काममा लाग्छु –देवकोटाले भन्नुभयो। उहाँले चुनावका बेला सानातिना आरोप प्रत्यारोप भए पनि संगठनलाई मिलाएर अगाडि बढाउने प्रतिबद्धता गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्