गुल्मीका अधिकांश कार्यालयमा तालाबन्दी



नेपाल समाचारपत्र
गुल्मी
सरकारले संविधान संशोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्रइएर दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा गुल्मीको सदरमुकाम जिल्ला प्रशासन कार्यालय गुल्मीसहित अधिकांश कार्यालयमा तालाबन्दी गरेका छन्। प्रदर्शनकारीले आन्दोलनको कार्यक्रमअन्तर्गत आमहड्ताको पहिलो दिन जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरी प्रमुख जिल्ला अधिकारीसहित कुनै पनि कर्मचारीलाई प्रवेश गर्न रोक लगाएका छन्। संयुक्त आन्दोलनरत समिति गुल्मी र स्थानीयबासीले गरेको आन्दोलनका कारण बिहानैदेखि गुल्मीमा प्रदर्शन भइरहेको छ।

बिहानैदेखि प्रदर्शनमा उत्रिएका बन्दकर्ताले प्रशासन अगाडि रहेको प्रदेश नं. ५ को कार्यालय गुल्मीको बोर्ड जिल्ला प्रशासन कार्यालय गुल्मीको बोर्ड नजिकै राखेका छन्। बोर्ड राख्ने क्रमम केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो। प्रदर्शनकारीले प्रशासनको मूल गेट अगाडि नाराबाजीसहित धर्ना दिँदै आएका छन्। गुल्मीमा जिल्ला प्रशासन कार्यालयसहित, जिल्ला विकास समितिको कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा कार्यालय, सिँचाइ कार्यालय, विद्युत् कार्यालयलगायतका अधिकांश कार्यालयमा तालाबन्दीसहित प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रदर्शनकारीले नाराबाजी गरिरहेकाले ठूलो संख्यामा प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

गुल्मीमा १७ दिनदेखि अनिश्चित्कालीन बन्दले जनजीवन कष्टकर बनेको छ। लगातारको बन्दले सर्वसाधारणको दैनिक कष्टकर बन्दै गएको छ। बन्दकर्ताले बिहानैदेखि बन्द गराउँदै हिँड्नाले सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन छुटेका छैनन्। शुक्रबारबाट ३ दिन गुल्मीमा शैक्षिक संस्थाहरू पनि बन्द भएका छन्। विरोध कार्यक्रममा सीमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्रइउन पाइँदैन, राष्ट्रघाती प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरू लगाउँदै विरोध गरिरहेका छन्। गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दललगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ। सरकारले ५ नं. प्रदेश टुक्रइउने प्रस्ताव संसद्बाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्