सिन्धुलीमा जनमत



मोहन दुवाल
०३० सालतिर सिन्धुलीमा हिँडेरै पुगेको सम्झना छ । बनेपाका समकालीन मित्रहरु केदारनाथ प्रधान, राजभाइ प्रधानसँग नक्सलबारी पुग्ने धुनमा सिन्धुलीको बाटो भएर जाँदा सिन्धुलीमा केहीक्षण बनेपाली मित्रहरुसँग भलाकुसारी गर्न पाएको क्षण याद आइरहन्छ । यसपल्ट २०७३ साल मङ्सिर १७ गते ४३ वर्षपछि सिन्धुलीका मित्रहरुले डाकेको कारणले सिन्धुलीमा पुग्ने भयौं । केही वर्षअगाडि सिन्धुलीका मित्र शारदाप्रसाद पहाडी र खोटाङका अर्का मित्र कृष्णप्रसाद आचार्य रेडक्रसको कामको सिलसिलामा बनेपा आउँदा मलाई भेट्न जनमतको कार्यालयमा आइपुगेका थिए । परिचय भयो, सरसङ्गतमा गाढापन टाँसिंदै गयो ।

जनमत मासिकलाई माया गरेर जनमतका आजीवन ग्राहकहरु सिन्धुलीमा बनाइदिए र खोटाङमा जागिरको सिलसिलामा छँदा पनि यिनले जनमतलाई आजीवन खोटाङमा पुग्ने व्यवस्था मिलाइदिए । बोलीको पक्का, इमानदार व्यक्तिका रुपमा यिनी मसँग नजिक पर्दै गए । सिन्धुलीका पहाडी शिक्षणसेवामा समर्पित हुँदै पछिल्लो कालखण्डमा नेपाल रेडक्रस सोसाइटीका सक्रिय कर्मचारी हुँदै खोटाङ भएर बैतडीबाट काठमाडौं सरेका हुन् । साहित्यमा केही गर्ने मन दिएर जनमतसँग यिनी गाढा सम्पर्क बनाउँदै जनमतलाई सिन्धुली साहित्य विशेष अङ्क निकाल्न सहयोग प्ुर्याउने जनमत मासिकका अतिथि सम्पादक पनि हुन् ।

जनमतमा सिन्धुली साहित्य विशेष प्रकाशन गर्न यिनले निकै परिश्रम गरेको देखिन्छ । सम्पादन समूहमा गोविन्दराज सिवाकोटी र खडानन्द तिमल्सिनालाई राखेर यिनीहरुको सहयोग जुटाई अङ्क प्रकाशन भयो । सिन्धुलीमा उक्त अङ्क मङ्सिर १८ गते सार्वजनिक गर्ने र उक्त कार्यक्रममा वरिष्ठ साहित्यकारका रुपमा मलाई र जनमतका सम्पादकका रुपमा मेरी जीवनसंगिनी भारती श्रेष्ठलाई सम्मान गर्ने चाँजोपाँजो यिनले मिलाए । सिन्धुलीमा मङ्सिर १७ गते जाने भइयो । १ः३० बजेतिर शारदाप्रसाद पहाडी मोटरमा सिटको बन्दोबस्त मिलाई मेरो घरछेउ मोटर लिएर देखा परे । भारती र म सिन्धुली जान मोटरमा चढ्यौं । जापानको डिजाइनिङ र सहयोगमा तयार बीपी–सिन्धुली मार्गको घुम्ती–घुम्ती परेको उकालो–उकालो चढेर, ओरालो–ओरालो लागेर खोलाका पानी–स्पर्शहरु आँखाभरि टाढैबाट छर्केर हामी मोटरमार्फत रमाइलो ढङ्गले कुदिरह्यौं । ठीक ५ः३० बजे लक्ष्मण चोकमा हामी ओर्लियौं अर्थात् बनेपाबाट सिन्धुली ४ घण्टामा पुर्याइदियो ।

आजको बास शारदाजीको लक्ष्मणचोकनेर रहेको निवासमा नै बस्ने व्यवस्था मिलाइएको रहेछ । करिब ५ मिनेटमा हामी पहाडीको घरनेर पुग्यौं । दुई छोरा र श्रीमती अप्सरा (लता) पहाडीको नमस्कार साटासाट गरेर घरभित्र छिर्यौं । बनेपामा जस्तो जाडोको महसुस भएन, शरीरले न्यानो–न्यानो नै स्पर्श गर्न पाइयो । घरको वातावरण पनि सुखानुभूति हुने खालकै थियो । यही कार्यक्रमकै लागि श्रीमती पहाडी पनि उदयपुरबाट आएकी रहिछन् । स्वास्थ्य क्षेत्रमा क्रियाशील बहिनी अप्सराले सत्कारको न्यानो अभिवादन दिएर खाना पस्किदिइन् । दुध, दही, घिउसँग मुछेर मासुभात खायौं । थपेर खाने चलन नभएकोले मीठो भएर पनि थप्ने जाँगर चलाइएन । सिन्धुलीमा होटेलको चामत्कारिक व्यापारिक जादु र शैलीमा पर्नुपरेन । परिवारको माया कति मीठो हुँदोरहेछ, सिन्धुलीमा शारदाजीको परिवारले मीठो माया पोखेर हाम्रो मनलाई न्यानो बनाइदियो । केही क्षणको बसाइपछि खडानन्द तिमल्सिना आइपुगे । केही क्षणको साहित्यिक कुराकानीपछि हामी सुत्न कोठातर्फ लम्क्यौं । आनन्दले रात बितायौं । भारती पनि आफ्नै घरमा सुतेजस्तै गरी सुते । बिहान ४ः०० बजे उठिसक्ने मेरो बानी, यहाँ पनि यही समयमा निद खुल्यो ।

बिहान समयमा हिँड्नु नै कल्याण सम्झेर ६ः४५ तिर सिन्धुली वाङ्मय प्रतिष्ठानका अध्यक्ष शम्भु ढकाल अञ्जुलको निवासघर खड्का गाउँमा पुग्ने चाँजोपाँचो मिलाई पहाडीजी सँग भएर लम्लम्ती हिँड्यौं । ढकालगाउँ पुग्दा ७ः४५ बजिसकेछ । ढकालगाउँले प्रख्यात रहेको उक्त गाउँमा पुग्दै अञ्जुलज्यूको घर–प्राङ्गणमा छिर्दा श्रीमान्⁄श्रीमती शम्भु र अम्बिका ढकालले न्यानो अभिवादन पोख्दै स्वागत गरेर शिष्टतापूर्वक आमन्त्रण गरी घरभित्र लगे । आफ्नै घरमा सभाकक्षहरुको निर्माण गरेर सिन्धुलीमा कार्यक्रम गर्न सजिलो बनाइएका कारणले ढकाल दम्पतीको प्रशंसा त्यस क्षेत्रमा गर्दा रहेछन् । शनिबार बिहान ६–७ वर्षका देखि १३–१४ वर्षसम्मका बालबालिकालाई योगशिक्षा, नैतिक शिक्षा पनि दिँदै आएको उक्त ठाउँमा साधवी सुधा देवकोटाले प्रशिक्षण दिँदा रहेछन् । केही क्षणको बसाइपछि उक्त चरित्र विज्ञान सिकाउने कक्षमा स्वागत गर्दै मेरो परिचय दिएर शुरु भएको उक्त कार्यक्रममा मैले बालबालिकालाई खराब होइन असल बन्न र खराब गर्नेहरुको विरुद्ध आवाज उराल्न सक्ने बन्नुपर्छ भन्ने कुरा फुकाएँ । भानुस्मृति सभाभवनमा भएको उक्त कार्यक्रम सिध्याएर हामी चारजना शम्भुजी समेत भएर जर्बुटा कला सङ्ग्रहालयतर्फ लाग्यौं ।

डाँडामाथि चिटिक्क परेको सङ्ग्रहालयजस्तो देखिँदो घरमा कला–सङ्ग्रहालय । घरबाहिर प्रकृति मुस्काइरहेजस्तो खुल्दो वातावरण । ठाउँ–ठाउँमा सजाइएका जर्बुटाहरु हेर्दैमा हेरिहुँजस्ता दृश्य–परिदृश्यहरु । कलाकार विश्वम्भर लामिछाने त्यस क्षेत्रका चर्चित कलाकारले कलाकुटीमा हाम्रो स्वागत गरे । कोठाभित्र जराबाट सिर्जित करिब १५० वटा जति कलाकृतिहरु नजिकले छान्यौं । मानवीय समवेदना व्यक्त भएका थुप्रै कलाहरु निकाल्यौं । राजनीतिमा भ्रष्टता बढ्दै गएको, देशको थितिमा केही परिवर्तन नभएको, गणतन्त्रको नाममा गाईजात्रा हुँदै आएको, प्रजातन्त्रको नाममा पाखण्डीपन बढेको, नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको अर्थ र गरिमा न्यून हुन नहुने लगायत आजका भ्रष्ट बन्दै गएका कम्युनिस्टको आकृति पनि जर्बुटामा कुँदिएको पाइयो । प्रस्ट विचार राख्न सिपालु वकिलसाहेबका कला सङ्ग्रहालय सिन्धुलीबाट राष्ट्रमा देखाउन मिल्ने सिन्धुलीगढीपछिको बौद्धिक धरोहर हो भन्न सकिन्छ, मलाई यस्तै भन्न मन लाग्यो । उमानाथ शास्त्रीका जुवाइँ तथा प्रसिद्धा शर्माका श्रीमान् विश्वम्भर लामिछाने सिन्धुलीका नमेटिने इतिहास मात्र नभई राष्ट्रियस्तरकै कलासंयोजन गर्नसमेत सिपालु कलाकार पनि हुन् भन्न सकिन्छ । विश्वम्भर लामिछाने र जराबाट कुँदिएका मूर्तिहरु हेरेर सिन्धुलीको कलाकृतिलाई धन्य–धन्य लेखेर शम्भु ढकालका निवासघर फर्कियौं र खाना खाइसकेर कार्यक्रम हुने सभाकक्षमा भारती र म छिर्यौं ।

ठीक १२ः०० बजेतिर नन्दलाल श्रेष्ठले कार्यक्रमको उद्घोषण गरे । जनमत मासिकको सिन्धुली साहित्य विशेष अङ्क (२०७३ कार्तिक, पूर्णाङ्क २२९) को प्रमुख अतिथि भएर सार्वजनिक गरियो । सिन्धुलीलाई साहित्यिक क्षेत्रमा राष्ट्र⁄अन्तर्राष्ट्रिय स्तरमा देखाउने काम गरेको भन्दै जनमतको प्रशंसामा विश्वम्भर लामिछाने, शारदाप्रसाद पहाडी, गोविन्द सिवाकोटी, सुधा देवकोटालगायत सबैले मुक्तकण्ठले प्रशंसा गरे । सिन्धुली वाङ्मय प्रतिष्ठानका तर्फबाट सभाका अध्यक्षता गर्नुहुने शम्भु ढकालले कार्यक्रममा आफ्नो विचार राख्दै मेरो र भारतीको जनमतमा भएको समर्पण सेवाभावलाई साहित्यमा भएको महान् कर्म हो, जुन सधैँ प्रशंसा र उल्लेख गर्नलायक भएका छन् भन्दै आफ्नो विचार राखे । सिन्धुलीमा जनमतको झन्डा फहराइयो, सिन्धुलीलाई जनमतमा उतार्न पाइयो र सिन्धुली वाङ्मय प्रतिष्ठानसँग जनमत वाङ्मय प्रतिष्ठानको मन साटासाट गर्न पाइयो र भारतीको समर्पणमा भएको मूल्याङ्कनमा उनी पनि सम्मानित हुँदा म गद्गद् भएँ । यही उपलब्धि बोकोर भोलिपल्ट बिहान ६ः०० बजे नै सिन्धुलीबाट अर्थात् हामी रहेको कोठाबाहिरबाट जीप चढ्यौं ।

शम्भुजी र अम्बिकाजीले भारती र मलाई कुचोका मुठाहरु र भुइँकटहरका झोला सिन्धुलीको कोसेली दिँदै मोटरभित्र चढ्न लगाए । तल बजारबाट गोविन्द सिवाकोटी हामीसँगै काठमाडौं फर्किने भएको खबर पाइयो । उनीसँग शारदाप्रसाद पहाडी र खडानन्द तिमल्सिना पनि पर्खदै थिए । गोविन्दजी पनि मोटर चढे, सिन्धुलीलाई मीठो माया दिएर र सिन्धुलीबाट पाएको मीठो स्पर्श मनमा राखेर हामी माथि हुँदै तल–तल झर्दै आयौं । गोविन्दजीसँग मनका कुराहरु साटासाट गरेर घरछेउ बनेपामा आइपुग्दा बिहानको ११ः३० बजिसकेछ । जुनार भरिराखेको बाकस उपहारस्वरुप दिँदै गोविन्दजीले हात मिलाए र मायालाग्दो नमस्कार साटासाट भयो । सिन्धुलीसँग जनमतको मन साटासाट भयो । सिन्धुलीमा जनमत पुग्यो । जनमतभित्र सिन्धुलीका मन–उत्सर्गहरु समेट्न पाइयो । सिन्धुलीमा जनमत इतिहास भएर टाँसिएकोमा र जनमतमा सिन्धुली अक्षर–अक्षर भएर गाँसिएकोमा भारती र म दङ्गदास भएर घरभित्र छिर्यौं ।

प्रतिक्रिया दिनुहोस्