नेपालको सेमिफाइनल यात्रा समाप्त



नेपाल समाचारपत्र
काठमाडौं

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो हार बेहोर्दा सेमिफाइनल पुग्ने आशा समाप्त भएको छ। रोहितकुमार पौडेलको सानदार अर्धशतकले पनि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको लागि जित हात पार्न सहयोग मिलेन। रोहितले अन्तिम ओभरमा तीन चौका र दुई छक्का प्रहार गर्दै २४ रन बटुलेका थिए। यही रनले उनले अर्धशतक पनि पूरा गरे भने नेपाललाई डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध ५० ओभरसम्म क्रिजमा टिकाए। तर नेपालको स्कोर भने खासै ठूलो रहेन केबल १ सय ७२ रनमा रोकिएको थियो। जसमा रोहितले ६८ रनको योगदान दिए।

१ सय ७३ रनको लक्ष्य भारतले सहजै पछइयो। ३३ दशमलव ३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको भारतसँग नेपाल ६ विकेटले हार्न बाध्य भयो। यो हार नेपालको प्रतियोगितामा दोस्रो हार थियो। चार टोली रहेको समूह एबाट नेपाल दुई हारसँगै सेमिफाइनल पुग्ने आशा पनि समाप्त हुन पुग्यो। यो समूहबाट भारत र श्रीलंकाले अन्तिम चारमा स्थान बनाएका छन्। शुक्रबार नै भएको अर्को खेलमा श्रीलंकाले मलेसियालाई ८ विकेटले हराएको छ। नेपालले आइतबार अन्तिम खेल मलेसियासँग खेल्नेछ।

नेपालको ब्याटिङमा रोहितले आठौं नम्बरमा ब्याटिङ गर्न आएका हुन्। नेपाल ८६ रनका लागि ६ विकेट गुमेपछि क्रिजमा आएका रोहितले ६८ रनमा नटआउट हुँदै सानदार ब्याटिङ गरे। उनले ९३ बलको सामना गरी ७ चौका र २ छक्कासमेत प्रहार गरे। त्यस्तै अघिल्लो खेलमा आयोजक श्रीलंकाविरुद्ध ९० रन बनाएका दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडे। ठाकुरको बलमा बोल्ड हुन अगाडि उनले चार चौका पनि प्रहार गरेका थिए। अन्यमा आसिफ शेख १८ र प्रकाश केसी १३ रनमा आउट भए भने बाँकी ब्याटसम्यानले दोहोरो अंक पनि छुन सकेनन्। भारतका राहुल चाहारले पाँच विकेट लिए।

नेपालको बलिङमा पवन शराफले तीन विकेट लिन सफल भए भने सन्दीप लामिछानेले एक विकेट लिएका थिए। पृथ्वी शालाई शुरूमै आउट गरेर सन्दीपले नेपाललाई राम्रो शुरुआत दिलाए। तर भारतीय ब्याटसम्यान सुवमन गिल (५७ रन) र हिमांशु राना ( ५१ रन) ले अर्धशतकीय इनिङ खेलेपछि नेपालका लागि जित टाढा बन्दै गएको थियो। पवनले तीन विकेट लिए पनि भारत खेलमा हावी भइसकेको अवस्था थियो। १ सय ३१ रनका लागि चार विकेट नेपालले लियो तर पाँचौं विकेटका लागि प्रियाम गर्ग र सलमान खानले अटुट साझेदारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्