उपत्यकामा मूल्यवृद्धि घट्यो पहाडमा सबैभन्दा उच्च



नेपाल समाचारपत्र
काठमाडौं

चालू आर्थिक वर्षको पहिलो चार महिनामा खाद्य मुद्रास्फीति २ दशमलव ६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको पहिलो चार महिनाको आर्थिक अवस्था अनुसार अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १२ दशमलव १ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले खाद्य समूहअन्तर्गतको घ्यू तथा तेल र दलहन तथा गेडागुडीको मूल्य घटेको तथा दुग्धजन्य पदार्थ तथा अण्डा, खाद्य र खाद्यजन्य पदार्थ, फलफूल, मासु तथा माछालगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेको जनाएको छ।

समीक्षा अवधिमा गैरखाद्यमुद्रास्फीति ६ दशमलव ५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ९ दशमलव २ प्रतिशत रहेको थियो। यस समूहअन्तर्गतको यातायात तथा सञ्चारको मुद्रास्फीति घटेको छ भने लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवालगायतका वस्तुको मुद्रास्फीति गत वर्षको तुलनामा न्यून रहेको छ।

त्यस्तै क्षेत्रगत आधारमा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ६ दशमलव २ प्रतिशत, तराईमा ५ दशमलव १ प्रतिशत, हिमालमा ४ प्रतिशत र काठमाडौं उपत्यकामा ३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११ दशमलव ४ प्रतिशत, तराईमा ९ दशमलव १ प्रतिशत, हिमालमा ९ दशमलव ६ प्रतिशत र काठमाडौं उपत्यकामा ११ दशमलव ८ प्रतिशत रहेको थियो।

गत कात्तिक महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ६ प्रतिशत रहेको छ भने नेपालको मुद्रास्फीति ४ दशमलव ८ प्रतिशत रहेको छ। समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १ दशमलव २ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः १० दशमलव ४ प्रतिशत र ५ दशमलव ४ प्रतिशत रहेकाले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ५ प्रतिशत रहेको थियो। नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर क्रमिक रूपमा घट्दै गएको छ। नेपालमा तरकारी, मदिराजन्य पदार्थ लगायतका वस्तुको मूल्य वृद्धि तुलनात्मक रूपले उच्च रहेकाले नेपालको मुद्रास्फीति भारतको भन्दा केही उच्च रहेको हो।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर ४ दशमलव १ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलव १ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुको थोक मुद्रास्फीति ६ दशमलव २ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको ४ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ। आयातित वस्तुको १ दशमलव ६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुको थोक मुद्रास्फीति ११ दशमलव ९ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुको ७ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुको ३ दशमलव ४ प्रतिशतले घटेको थियो।

यसैबीच राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक १४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकांक ८ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा तलब सूचकांकमा १८ दशमलव ५ प्रतिशत र ज्यालादर सूचकांकमा १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकाले तलब तथा ज्यालादर सूचकांकमा उच्च वृद्धि भएको हो।

तलबअन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उपसमूहको तलब सूचकांक क्रमशः २४ दशमलव २ प्रतिशत, २३ दशमलव ६ प्रतिशत र २० दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, ज्यालादरअन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकांक क्रमशः १५ दशमलव ७ प्रतिशत, १३ दशमलव ५ प्रतिशत र १२ दशमलव २ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्