“संशोधन प्रस्ताव समझदारीबाटै परिमार्जन”



धन बस्नेत, पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलहरूबीच समझदारी गरेर संविधान संशोधनको प्रस्ताव परिमार्जन गर्न सकिने बताउनुभएको छ। संशोधन प्रस्ताव पेस भइसकेको छ। अब कुनै पनि हालतमा फिर्ता हँुदैन, उहाँले पोखरामा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो– बरु समझदारी भए परिमार्जन गर्न सकिन्छ।

संविधान संशोधनसँगै सीमांकन विषयमा भएको प्रस्तावको विरोधमा प्रतिपक्ष लागेको भन्दै उहाँले संसद् अवरुद्ध नगरी छलफलबाट प्रस्ताव परिमार्जन गर्नेतर्फ अगाडि बढ्न आग्रह गर्नुभयो। विधेयक, महाअभियोग एवं निर्वाचनको विषयलाई प्याकेजमै समझदारी बनाउन जरुरी छ, प्रम दाहालले भन्नुभयो– त्यसका लागि संसद् अवरुद्ध हट्नुपर्छ। संसद्बाटै गरौं भन्ने भावना हाम्रो छ। प्रधानमन्त्री दाहालले संसद्बाटै छलफल गरेर टुंग्याउनुपर्ने भन्दै प्रस्ताव गरिएको संशोधन विधेयक संसद्मा भोटिङ गरेर पराजित गर्न प्रतिपक्षलाई आग्रहसमेत गर्नुभयो। प्रस्तावलाई दुई तिहाइ बहुमतबाट फेल गराउनुहोस्, उहाँले भन्नुभयो– त्यसका लागि संसद्मा आउनुहोस्।

पाँच नम्बर प्रदेशको सीमांकनको प्रस्ताव प्रतिपक्षले अघि सार्दा ठीक र अहिले बेठीक भन्नै नहुने भन्दै प्रतिपक्षले त्यसको विरोध गर्नु औचित्यसिद्ध नहुने उहाँको जिसकर थियो। हिजो आफू (एमाले) ले प्रस्ताव गर्दा राष्ट्रवाद हुने र माओवादी केन्द्रले गर्दा बेठीक भन्ने? उहाँले प्रश्न गर्दै भन्नुभयो– यो त सरकार र ममाथिको अन्याय भएको ठानेको छु।

प्रधानमन्त्री दाहालले चुनाव गर्न सरकार दृढ र प्रतिबद्ध रहेको उल्लेख गर्दै केही प्रक्रियागत रूपमा ढिलो हुने स्पष्ट पार्नुभयो। चुनाव हुन्छ। तर ढिलो। त्यसैले वैशाखसम्म जान सक्छ, उहाँले भन्नुभयो– वैशाखमा गरेर जेठसम्म पनि पुग्न सक्छ। चुनावका लागि कुनै पनि दलको विमति नभएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो– मधेसवादी दल पनि चुनावका लागि सहमतिमा जानेछन्।

राजनीतिक दलबीच समझदारी बनाएर मात्रै छिट्टै निर्वाचनको घोषणा गरिने उहाँको भनाइ थियो। आवश्यक विषय संशोधन गरी सम्बोधन गर्दै मधेसलाई विश्वासमा लिएर चुनावको घोषणा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति थियो। ‘चुनाव स्थानीय निकायको हँुदैन तहको हुन्छ, उहाँले भन्नुभयो– स्थानीय निकायलाई तह बनाउने विषयमा दलहरूबीच छलफल भइरहेको छ निष्कर्षमा पुगिएको छैन।

प्रेस सेन्टर कास्कीको आयोजनामा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री दाहालले पोखरा शहीदचोकस्थित शहीद पार्कमा पुगेर प्रतिमामा माल्यार्पण गर्नुभएको थियो। प्रेस सेन्टर कास्कीका अध्यक्ष विभु भसालको अध्यक्षतामा कार्यक्रम गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्