६ अर्बले पुँजीगत खर्च बढ्यो



नेपाल समाचारपत्र
काठमाडौं

चालू आर्थिक वर्ष २०७३⁄७४ को चार महिनासम्ममा नगद प्रवाहमा आधारित सरकारको बजेट ५३ अर्ब २९ करोड रुपियाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ३५ अर्ब १० करोड रुपियाँ रहेको थियो।

समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ९१ दशमलव ८ प्रतिशतले वृद्धि भई १४० अर्ब ६८ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ७ दशमलव ८ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा चालू खर्च बढेर १२४ अर्ब ८९ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ५८ अर्ब ५ करोड रुपियाँ रहेको थियो। समीक्षा अवधिमा पुँजीगत खर्च ११ अर्ब ८६ करोड रुपियाँ भएको छ। अघिल्लो वर्ष यस्तो खर्च ५ अर्ब ७४ करोड रुपियाँ भएको थियो। आर्थिक वर्ष शुरू हुनुभन्दा डेढ महिना अगावै बजेट प्रस्तुत भई समयमै विनियोजन विधेयक पास भएकोले चालू तथा पुँजीगत खर्च बढ्न गएको हो। तर, सरकारी खर्चको विभिन्न शिर्षकमा भएको खर्च वार्षिक अनुमानको तुलनामा निकै कम रहेको छ।

त्यस्तै सरकारको कुल राजस्व संकलन ८१ दशमलव ५ प्रतिशतले वृद्धि भई १६८ अर्ब ४ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १९ दशमलव ४ प्रतिशतले घटेको थियो। मूल्य अभिवृद्धिकर, भन्सार, आयकर, अन्तःशुल्क लगायतका राजस्वका शीर्षकहरू उच्च दरमा बढेकाले सरकारको कुल राजस्व संकलनको वृद्धिदर उच्च रहन गएको हो। स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७३ कात्तिक मसान्तमा सरकारको नेपाल राष्ट्र बैंकमा १९५ अर्ब ९६ करोड रुपियाँ नगद मौज्दात कायम रहेको छ।

त्यस्तै अघिल्ला तीन महिनामा लगातार घाटामा रहेको चालू खाता २०७३ कात्तिकमा १ अर्ब ८६ करोड रुपियाँले बचत रहेको छ। अघिल्लो वर्षको चार महिनासम्ममा ८३ अर्ब ७० करोड रुपियाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २१ अर्ब ९८ करोड रुपियाँले बचतमा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ३८ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ५ अर्ब ७१ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६१ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १२ करोड रुपियाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्