दीपको सांगीतिक दर्पण सार्वजनिक



गीतकार दीप दर्पणले आफूद्वारा लिखित आधुनिक गीतहरुको एकल गीति अडियो एल्बम दर्पण सार्वजनिक गरेका छन्। राजधानीमा बिहीबार आयोजित एक समारोहबीच उनको एल्बमको कवि तथा गीतकार दिनेश अधिकारीले सार्वजनिक गरे। विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रबन्ध निर्देशक सुवास रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अधिकारी र रेग्मीका साथमा रोयल्टी संकलन समाजका महासचिव महेश खड्का, संगीतकार राजकुमार बगर, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार गायक हरि डाँगी, अभिनेत्री अनु शाह, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियलगायतले एल्बम सार्वजनिक गरेका थिए।

दर्पण एल्बमका दुई म्युजिक भिडियोको प्रदर्शनसँगै आरम्भ कार्यक्रममा गीतकार दीप दर्पणले आफ्नो गीत लेखनको अनुभव बाँडे। संगीतकार महेश खड्काले एल्बममाथि समीक्षा गर्दै दर्पण एल्बम एउटा संग्रहणीय र श्रवणीय एल्बम भएको बताए भने प्रमुख अतिथि कवि तथा गीतकार दिनेश अधिकारीले द्वन्द्वकालमा दीप दर्पणसँग भएको भेटलाई आजसम्म निरन्तरता दिइरहेको उल्लेख गर्दै दर्पणको जन्म भएको बताएका थिए।

त्यसै गरी कार्यक्रमका सभापति तथा विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रबन्ध निर्देशक एवम् विन्ध्यवासिनी फाउण्डेशनका सदस्य सुवास रेग्मीले गीतसंगीतको क्षेत्रमा काम गर्दागर्दै एउटा परिवारका रुपमा दीप दर्पण भित्रिएको बताए। रेग्मीले नवगठित संगीत कला पत्रकार संघका लागि आफ्नो कम्पनीबाट सार्वजनिक हुने प्रत्येक एल्बम विमोचन कार्यक्रमबाट ७ हजार ७ सय ७७ रुपियाँ कल्याणकारी कोषलाई दिने घोषणासमेत गरे। विन्ध्यवासिनी म्युजिक कम्पनीद्वारा सार्वजनिक एल्बमभित्र मैलेभन्दा माया गर्ने, फुल्नुभन्दा त, तिमी जुन दिन टाढा, मेरो आँसुसँग, मेरो आँसु झर्दा, लाली गुराँस सुनाखरी, फुल्नुभन्दा त बोलका गीत संगृहित छन्। यी गीतमा अञ्जु पन्त, प्रमोद खरेल, रजिना रिमाल, दीपक लिम्बू, माण्डवी त्रिपाठी, अंकित न्यौपाने, श्रेयसी चेम्जोङले स्वर दिएका छन् भने राजकुमार बगर, सन्तोष श्रेष्ठ र हरि डांगीले संगीत भरेका छन्।

प्रतिक्रिया दिनुहोस्