थारु फिल्ममा खडेरी तोड्दै भौंरा



(बुनु थारु) ४⁄५ वर्षयता थारु फिल्म बन्नै छोडेको अवस्थमा भौंरा नामक थारु फिल्म एकल दौडमा उत्रिएको छ। दशैं, तिहारको अवसरमा थरुहटका विभिन्न क्षेत्र तथा काठमाडौंको जमलस्थित विश्वज्योति हलमा पनि यसको प्रिमियर शो भइसकेको छ।

फिल्मको कथाअनुसार गाउँका अगुवा महटाँवा (रोशन रत्गैंया) जमिनदारको मन छँदा छँदै पनि अर्को वर्षका लागि फेरि महटाँवा चुनिन्छन्। उनीसँगै जेठालगायत महटाँवा तीन भाइ छन्, तर महिलाबिना घर सुनसान छ। महटाँवा बिहे गर्ने मनसायमा हुँदैननन्। त्यसैले उनका माइला भाइ (श्रीनारायण चौधरी), वैद्य (नन्दुराज चौधरी) को दाइको छोरी (सोनु थारु) सँग बिहे गर्छन्। यसले घरै उज्यालो हुन्छ।

उता शहरमा पढ्ने जमिनदारको छोरा राज (राज कुश्मी) छुट्टीमा घर आएको बेला कमलरी गुलाबी (अञ्जु चौधरी) लाई रानी बनाउँछु भनेर लसपस गर्दा उनी गर्भवती हुन्छिन्। गुलाबीले बिहे गर्न दबाब दिन्छिन्, तर राज मान्दैन। महटाँवाले बैठक डाक्छन्। राज मैले रमाइलोका लागि गरेको हुँ। म गुलाबीलाई स्वीकार्न सक्दिनँ भनेर पन्छिन्छ। ऊ आफूलाई भौंरा (भमरा) को संज्ञा दिँदै जसलाई जे गरे पनि आफूलाई केही फरक नपर्ने बताउँछ। गुलाबीले पनि आफ्नो जिन्दगी आफैं जिउन सक्छु भन्छे। यसरी महटाँवाले पनि न्याय दिलाउन सक्दैनन्।

यस बीचमा राज मोटरसाइकल दुर्घटनामा पर्छ। अस्पतालमा छट्पटिँदै रहँदा गुलाबीले रगत दिएर बचाउँछे। राजको बाबु जमिनदार गल्तीको प्रायश्चित्त गर्दै सानैमा बच्चा चोरेर ल्याएको भन्दै राज उसको छोरा नभई महटाँवाको भाइ भएको रहस्य खोल्छ। राज माफी माग्दै गुलाबी र बच्चालाई अपनाउँछ। उता हराएको सम्पूर्ण परिवार भेटाउँदा ऊ खुसी हुन्छ। मझली (सोनु) को बच्चा जन्माउने बेला अस्पताल लैजाँदा लैजाँदै बाटैमा मृत्यु हुन्छ।

त्यसैले मझला बच्चाको भविष्य हेरेर सानी साली (मीना चौधरी) सँग बिहे गर्न राजी हुन्छ। जबकि सालीलाई उसको सानो भाइ (कृष्ण चौधरी) ले मन पराउँछ, तर भन्न सक्दैन। सानीको भाइ वीर (वीरबहादुर चौधरी) आएर रहस्य खोल्छ, अनि कान्छा र कान्छीको मिलन हुन्छ। फिल्ममा धेरै कथावस्तु भएकाले छइसमिस लाग्छ। हास्य कलाकारको रुपमा रहेको कान्छाको साथी सोंगिया (फिरु चौधरी) र जमिनदारको चम्चा बनेको (निरज चौधरी) थुक लगाएर भन्ने संवाद बोले पनि हँसाउन सकेका छैनन् उता चम्चाकी श्रीमती बन्ने पात्रले घरमा शौचालय नभएर बारीको पाटा, घरको कुनातिर गएर पिसाब फेरेको कथाले हँसाउने प्रयास गरेकी छिन्।

थारु समुदायमा रहेको कमलरी प्रथालगायत सरसफाइको बारेमा जनचेतना जगाउने कथावस्तु यसले छुन खोजेको छ। तर अन्तमा सालीलाई मन पराउँदा पराउँदै दाइले लिने अवस्था, पछि रहस्य खुल्दा भाइले आफ्नो जोडी पाउने यो कथा तीन दशकअघिको हिन्दी फिल्म नदियाको कथावस्तुसँग मेल खान्छ। त्यसैले थारु फिल्म बनाउने बेला थारु साहित्यकारहरुको मौलिक कथामा निर्माताहरुले ध्यान दिन जरुरी छ। पुराना कलाकार सोनु थारु र श्रीनारायण चौधरीको जोडी केही जमेको देखिन्छ। नवनायिका अञ्जुले नृत्यमा राम्रो भए पनि अभिनयमा धेरै सुधार ल्याउनुपर्ने देखिन्छ। महटाँवा (रोशन रत्गैया) को थोरै कमजोर देखिएका छन्। आफू निर्देशक भए पनि कृष्ण चौधरीले खुलेर अभिनय देखाउन सकेका छैनन्।

नन्दुराज चौधरी निर्माता रहेको चम्पन सांस्कृतिक समूहको पहिलो प्रस्तुति भौंरामा निर्देशन कृष्ण चौधरी, पटकथा श्रीनारायण चौधरीको रहेको छ। फिरु चौधरीको संगीत, गायक रामकुमार कठरिया र गायिका समीक्षा चौधरीको गीत पनि कर्णप्रिय छ। फिल्म अनुभवी छायाकार हरिनारायण चौधरीले खिचेका छन्। नृत्य निर्देशकमा दीपक चौधरी, हरि वाग्ले र दीपक दीप रहेका छन्।

फिल्ममा रीमा चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको पनि अभिनय रहेको छ। कथावस्तु जे जस्तो भए पनि र फिल्म जस्तो बने पनि थारु फिल्मको खडेरी लागेका बेला भौंराले थारु समुदायमा रौनक भने ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्