तीन विचौलियालाई १५ वर्षको जेल फैसला



सीताराम चौधरी
कृष्णनगर
चेलीबेटी बेचबिखन मुद्दामा पुर्पक्षका लागि थुनामा परेका पाँच विचौलियालाई जिल्ला अदालत तौलिहवाले जेल चलान गरेको छ। जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासलले गत असोज २३ गते जरिवाना र कैद फैसला गरेको हो।

मानव बेचविखनमा संलग्न विचौलिया ललिता विक, प्रदिप विक र रेखा विकलाई अदालतले १५ वर्ष जेल सजाय र जनही एक लाख क्षतिपूर्तिको दण्ड सजायसहितको फैसला गरेको छ। भने इन्द्रबहादुर खड्का र मोहन पाण्डेलाई ७वर्ष ६ महिना जेल र ५० हजार रुपियाँ जरिवाना तोकेको छ।

एक वर्षअघि ती विचौलियाले रोल्पाका गीता, मीना र सीमा (नाम परिवर्तन) लाई ललाइफकाइ कृष्णनगर सीमानाका हुँदै भारत लैजाने क्रममा किशोरीहरूको उद्धार गर्ने क्रममा पक्राउ परेका थिए। मानव बेचविखन विरुद्ध कृष्णनगरमा कार्यरत केआई. नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले विचौलियालाई पक्राउ गरेको थियो।

पक्राउ परेको पाँचै जनालाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगरमा मुद्दा दर्ता भएको थियो। कानुनी प्रकृयाअनुसार प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत कपिलवस्तुमा पेश भएको थियो। पीडित र साक्षीको बयान तथा प्रहरीको अनुसन्धानबाट निस्किएका प्रमाणहरूका आधारमा जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले विचौलियालाई दण्ड सजाय सुनाएको हो।

उद्धार गरिएका पीडित किशोरीहरू केआई. नेपालको सुरक्षित आवास गृह चितवनमा रही विभिन्न सीपहरू सिकी अभिभावकसँग पुनर्मिलन भइसकेको केआई. नेपाल कपिलवस्तुका जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिनुभएको छ। यसअघि मानव बेचबिखनमा संलग्न समीर महमद अन्सारी र निसान भन्ने अनुप गुरुङसमेत जिल्ला अदालत कपिलवस्तुको फैसलाअनुसार १० वर्षका लागि जेल चलान भइसकेका केआई. संयोजक विश्वकर्माले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्