मुस्लिम धर्मगुरुले गरे पाँच बुँदे कपिलवस्तु घोषणापत्र



सीताराम चौधरी, चन्द्रौटा
मुस्लिम धर्मगुरुहरूले पारिवारिक व्यवस्थापन बारे पाँचबुँदे कपिलवस्तु घोषणापत्र जारी गरेका छन्। जिल्लाको शिवराज नगरपालिका–६, चन्द्रौटामा आयोजित एक कार्यक्रममा सहभागी मुस्लिम धर्मगुरुहरूले सो घोषणापत्र जारी गरेका हुन्।

बालबालिकाको पोषण स्वास्थ्यलाई ध्यानमा राख्दै बच्चा जन्मेको दुई वर्षसम्म आमाले अनिवार्य आफ्नै दूध चुसाउनुपर्ने कुरालाई अविलम्ब पालना गर्न धर्मगुरुहरूले सामूहिक घोषणापत्र जारी गरेका छन्। यस्तै घोषणा पत्रमार्फत् छोराछोरीबीच कुनै पनि किसिमको भेदभावपूर्ण व्यवहारलाई अन्त्य गरी समान व्यवहारमा विशेष ध्यान दिन जोड दिएका छन्। बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर जन्मेको तीन वर्षपछि मात्र अर्को बच्चा जन्माउने कुरालाई अविलम्ब पालना गर्न मुस्लिम धर्मगुरुहरूले घोषणापत्रमा उल्लेख गरेका छन्। सो समयमा दुवैको सहमतिमा अस्थायी साधनको प्रयोग गर्न सकिने उनीहरूले बताएका छन्।

यसै गरी मुस्लिम बालबालिकालाई शिक्षा र स्वास्थ्यमा नेपाल सरकारबाट भइरहेको भेदभावपूर्ण व्यवहारको घोर निन्दा गर्दै मुस्लिम बालबालिकालाई विशेष सेवा सुविधाको माग गरिएको छ। इस्लाम धर्म तथा मुस्लिम समुदायमा महिलालाई विभेदपूर्ण व्यवहार गरिएको जस्ता अन्तर्राष्ट्रिय जगत्मा लाञ्छना लगाउने कार्यप्रति बैठकले आपत्ति जनाउँदै इस्लाम धर्मलाई सही ढंगले सम्झिन अनुरोध गरिएको छ।

यसरी जिल्लाका मुस्लिम धर्मगुरुहरूले इस्लाम धर्मको गलत प्रचारको खण्डन गर्दै गाउँ तहमा सकारात्मक सन्देश फैलाउने प्रतिबद्धता जाहेर गरेका थिए। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुकर घिमिरेले सानो परिवार सुखी परिवारका लागि धर्मगुरुले समाजमा सन्देश फैलाउनुपर्नेमा जोड दिए। बालबालिकाको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा भएकाले यसतर्फ विशेष ध्यान दिन स्वास्थ्य प्रमुख घिमिरेल आग्रह गरे। हरेक नागरिकले आत्मसम्मान साथ बाँच पाउनुपर्ने सन्देशलाई अवलम्बन गर्दै समुदायको रहनसहनलाई स्वस्थ र सन्तुलित राख्न सबैले पहल खेल्नुपर्ने उनले जिकिर गरे।

यता राष्ट्रिय मदरसा शिक्षा व्यवस्थापन परिषद्का सदस्य मौलाना मसहुद खाँ ‘नेपाली’ ले समुदायमा इस्लाम धर्मलाई गलत व्याख्या गरिने हुँदा यसलाई सही ढंगले बुझिदिन सबैलाई आग्रह गरे। अस्थायी साधन प्रयोग गर्न नहुने, सन्तानलाई अल्लाहको वरदान भन्ने कुरालाई इस्लाम धर्मको नभई मानवले समाजमा फिजाएको गलत सन्देश भएको बताउँदै उनले पारिवारिक व्यवस्थापनका लागि बालबालिकाको पोषण स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। साथै स्वस्थ र सुखी परिवारका लागि सबै धर्मगुरुलाई समाजमा सही सन्देश फैलाउनसमेत उनले अनुरोध गरे।

यसै गरी कार्यक्रममा मुस्लिम अगुवा अहमद अब्दुल रउफले इस्लाम धर्मप्रति जनमानसको विश्वास जगाउन गाउँ–गाउँमा सही सन्देश फैलाउनुपर्ने धारणा राखेका थिए। साथै यूएनएफपीएका जिल्ला संयोजक चित्र महतोले धर्मगुरु नै मार्गदर्शक भएकाले बालबालिकाहरूको शिक्षा र स्वास्थ्यप्रति मुस्लिम धर्मगुरु नै सचेत हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा मौलाना नियाज अहमदले पारिवारिक व्यवस्थापनका विषयमा सहजीकरण गरेका थिए। कार्यक्रम समापनको अवसरमा इस्लाम धर्ममा उल्लेख गरिएका राम्रा कुराहरूलाई अध्ययन गरी सही ढंगले बुझ्न र सबै धर्मबीच शान्ति सद्भाव कायम गर्न राष्ट्रिय मदरसा शिक्षा व्यवस्थापन परिषद्का सदस्य मौलाना मसहुद खाँ ‘नेपाली’ ले जिल्ला जनस्वास्थ्य प्रमुखलाई नेपाली भाषामा उल्था गरिएको इस्लाम धर्म ग्रन्थ कुरान प्रदान गरेका थिए। जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना र यूएनएफपीएको सहयोग रहेको कार्यक्रममा दुई दर्जन बढी मुस्लिम धर्मगुरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्