प्रहरी अप्रेसनमा च्यातियो जालो ड्रग्स ओसारपसारमा भारतसँग ‘कनेक्सन’



मोतीराम तिमल्सिना, काभ्रे
बनेपा नगरपालिका–१० घर भएका सिसुम मानन्धरको भाइ सञ्जीव मानन्धर ड्रग्स सेवनमा ओभरडोजका कारण मृत्यु भयो। बुबाआमा विभिन्न कारणबाट बितिसकेका छन्। भाइ र उनी बस्दै आएको घरबाट प्रहरीले बुधबार दिउँसो ४ सय ५७ ट्याबलेट लागूऔषध बरामद गर्यो।

सिसुम प्रहरी घरभित्र प्रवेश गरेको देख्ने बितिक्कै झ्यालबाट हामफालेर फरार भए। प्रहरीले अझै उनलाई पक्राउ गर्न सकेको छैन। लागूऔषधको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले अप्रेसन शुरु गरेको केही दिनमै सिसुमको घरमा प्रहरीले सुनसरी लौकही गाविस–६ का धनवीरकुमार मण्डल, बनेपा–६ का निरज राजथलालगायतलाई पक्राउ गर्यो। पक्राउ परेकाहरूसँग बयान लिने क्रम जारी छ। प्रहरीले बयानकै आधारमा लागूऔषध ओसारपसार र प्रयोगकर्ताहरूलाई पक्राउका लागि कनेक्सन खोजिरहेको छ।

कसरी भित्रन्छ लागूऔषध
काभ्रेपलाञ्चोक जिल्ला अरनिको र बीपी राजमार्गको केन्द्र हो। बनेपामा विभिन्न जिल्लाका व्यक्तिहरूको बसोबास र व्यवसाय सञ्चालन भएको छ। राजमार्गका कारण राजधानीबाट अन्यत्र र अन्यत्रबाट राजधानीमा लागूऔषध तथा अन्य तस्करीका सामानहरू लैजान सहज छ। प्रहरीले बेला–बेला गरेको कारबाही वा चेकजाँचका क्रममा लागूऔषध ओसारपसारमा संलग्नहरूलाई पक्राउ गरेको भए पनि त्यसको मुख्य जरो पत्ता लगाउन सकेको थिएन।

बनेपामा पान पसल राख्दै आएका सुनसरी लौकही गाविस–६ का मण्डल लागूऔषधका दलाली कारोबारी हुन्। उनलाई लागूऔषध भारतबाट सन्तोष यादवले सुनसरीसम्म ल्याइदिने गरेका छन्। सुनसरीको बसपार्कमा यादवले लागूऔषध ल्याइदिएपछि धनवीर त्यही सामान बोकेर काभ्रे आइपुग्छन्। उनले जिल्लाका विभिन्न क्षेत्रमा लागूऔषधका ट्याब्लेट, सिरिन्जहरू बिक्री–वितरण गर्ने गरेको पाइएको छ। गोप्यरूपमा हुँदै आएको कारोबारमा प्रहरीले अप्रेसनमार्फत् उनलाई पक्राउ गरेपछि उक्त तथ्यहरू खुलेका हुन्।

इलाका प्रहरी कार्यालय बनेपाको टोलीले उनीहरूको साथबाट नाइट्राभेट १० हजार ४ सय ५७ थान र सिरिन्ज ४ थान बरामद गरेको छ। सिसुममार्फत् बनेपाका विभिन्न स्थानमा लागूऔषधको कारोबार हुँदै आएको छ। बनेपाबाहेक पनौती, धुलिखेल, पाँचखाल, भकुण्डे, नाला क्षेत्रमा लागूऔषध प्रयोगकर्ता र कारोबारीहरू गोप्यरूपमा परिचालित भएका छन्।

प्रतिक्रिया दिनुहोस्